प्रधानमन्त्री ओलीको छुद्र बोली (भिडिओसहित)

काठमाडौं । हुन त प्रधानमन्त्री केपी शर्मा ओली छुच्चो बोलीका लागि प्रख्यातै छन् । औपचारिक सभा समारोहमै उनी आफूलाई मन नपर्ने व्यक्तिलाई हियाएर बोल्न र घोचपेच गर्न उनलाई कसैले सक्दैन । पटक-पटक आलोचना भएपनि उनले यो बानी त्याग्न सकेका छैनन् भन्ने कुरा सोमबार फेरि एकपटक पुष्टि गरेका छन् ।

जहाँ उनले आफ्नो विपक्षमा रहेका दल र नेता मात्र होइन, पूर्वप्रधानमन्त्री, सभामुखलगायत गरिमामय पदमा रहेका पात्रहरुलाई पनि नाम वा पदै तोकेर मानमर्दन गरे ।

केही दिन भएको थियो, प्रधानमन्त्री ओली खासै नसुनिइएका । तर जब उनी सुनिए, एकदमै बिझाए । उनको बोली पदीय हिसाबले अशोभनीय त थियो नै, मदन भण्डारीजस्ता एक शालिन नेताको स्मरणमा आयोजना गरिएको कार्यक्रमलाई नै फिक्का बनाइदियो ।
सोमबारको सम्बोधनमा उनले न्यायालयदेखि आफ्ना वर्षौँका सहकर्मी, विपक्षी दल, केही समयअघिसम्म एकै दल बनाएर हिँडेका नेता कसैलाई बाँकी राखेनन् । त्यो पनि छुद्र भएर, बिझाउने शब्द र शैली प्रयोग गरेर ।

आफूविरुद्ध मोर्चाबन्दी गरिरहेका दल र नेतासँग क्षुब्ध देखिएका उनी सबैप्रति पालैपालो खनिए । ‘जननेता’ मदन भण्डारीको ७०औं जन्मोत्सवको अवसरमा सरकारी निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा के भने ओलीले ?

०००
माधवकुमार नेपाल भन्ने एकजना मान्छे कांग्रेसको पछाडि कुदेका छन् । उनको अहिले राम्रै चर्चा छ । त्यसैले प्रायः सबैले चिन्छन् । एमालेको वरिष्ठ नेता हुँ भन्छन्, आफ्नो स्वार्थको लागि यतिसम्म पनि पतन हुन सक्दा रहेछन् भन्ने कुराको उदाहरण हुन् उनी चाहिँ । लाजशरम पचाएकै छन् । तर, चर्चा राम्रै हुन्छ । गान्धीको मात्रै होइन, गोड्सेको पनि चर्चा त हुन्छ नि त । गोड्सेको नेपालमा अलिक धेरै नै चर्चा हुन थालेको छ । कांग्रेसका नेताहरुले गोड्से बन्नुपर्ने र अरु नबने आफैं बन्ने बताएपछि चर्चा राम्रै हुन थालेको छ ।

यो भनेको चाहिँ फेरि ‘प्रचण्ड पथ’ अँगालेको हो । गोड्से बन्ने भनेको चाहिँ प्रचण्ड पथ नै हो । अब अरु कुरा त के भन्नु कांग्रेसको नीति र सिद्धान्त नै प्रचण्ड पथ भइसक्यो । प्रचण्ड पथ यति चर्चित भइसक्यो कि ‘सुप्रीम कोर्ट’ मा पनि प्रचण्ड पथकै कुरा हुन्छ भन्ने सुन्छु ।

अहिलेको प्रधानमन्त्री र राष्ट्रपतिको बारेमा कति नकारात्मक टिप्पणीहरु आउँछन् । कसैले नाथुराम गोड्से बन्ने कुरा गर्छन्, कतिले प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई काट्ने कुरा गर्छन् । अचम्म लाग्छ, सर्वोच्चले हिंसालाई दुरुत्साहन गर्ने यस्ता कुराहरुलाई किन केही गरिरहेको छैन ।  कतिपय विद्धान मित्रहरुले त सर्वोच्चमै पनि यस्ता कुराहरु गर्नुभयो भन्ने सुनेँ । के न्यायमूर्तिहरुले आफ्नो वक्तव्य सच्याउनुस् भनेर भन्न सक्नुहुन्न र ?

माधव नेपाल भन्ने मान्छेलाई मैले प्रधानमन्त्रीको प्रस्ताव गरेँ रे । मलाई बहुला कुकुरले टोकेको छ र माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्नलाई ? मैले यसअघि पनि भनिसकेको छु, माधव नेपाल भन्ने मान्छे त प्रचण्डको मामुली कार्यकर्ता हो । कहिले अध्यक्षको प्रस्ताव राख्यो केपी ओलीले भनेको छ, कहिले प्रधानमन्त्रीको प्रस्ताव राख्यो केपी ओलीले भनेको छ । फेरि पनि भन्छु माधव नेपाल प्रचण्डको पुच्छर हुन् ।

०००
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छेपारोलेझैँ रङ्ग फेर्नु नौलो नभएको टिप्पणी गरे । प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिस छक्क परेको भन्दै उनले भने— ‘किन छक्क मान्ने ? छेपारोले रङ्ग छिनमा फेर्छ त !’ ‘खैरोखैरो मुढामा गयो भने खैरो रङ्ग बनाउँछ । हरियोमा गयो भने हरियो, कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रङ्ग फेर्छ त ।’ उनले अगाडि भने— ‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छन् । कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्ताक्षेप गर्दैन भन्छन् । कहिले गणतन्त्र ल्याउने मैं हुँ भन्छन्, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छन् । कहिले राष्ट्रपतिभन्दा राजा नै ठीक भन्छन् ।’

राष्ट्रिय जनमोर्चाको के कुरा गर्नु ? उहाँहरुको प्रतिनिधि एकजना हुनुहुन्छ । एकजनालाई मन्त्री खुवाइहालिएन अथवा खाइहालिएन भने त बर्बादै हुन्छ भन्ने परेको छ । अब उहाँहरुको राजनीति त्यति हो । कांग्रेसलाई नै साथ दिएर भएपनि मन्त्री त बन्ने हो भन्ने परेको छ उहाँहरुलाई । उहाँहरु मन्त्री बन्नतिर लाग्नुभयो । अब उहाँहरुसँग राजनीतिक एजेण्डा छैन, उद्देश्य छैन । उहाँहरुलाई दुईदिनको जिन्दगीमा मन्त्री भइहाल्नुपर्छ अनि बनाइहाल्नुपर्छ भन्ने भइरहेको छ ।

०००
यसरी अरुलाई तुच्छ भाषाशैलीमा गाली गर्ने प्रधानमन्त्री ओली समय समयमा शिष्टता सिकाइरहेका हुन्छन् । आजै पनि प्रधानमन्त्री ओलीले राष्ट्रपति र प्रधानमन्त्रीप्रति टिकाटिप्पणी भइरहेको र यो क्रम सर्वोच्च अदालतसम्मै पुगेकोप्रति घुमाउरो पारामा चित्त दुखाएका थिए ।

ओलीको बोलीपति सामाजिक सञ्जालमा टिप्प्णी
प्रधानमन्त्री ओलीले बालुवाटारमा आक्रोश व्यक्त गरेपछि सामाजिक सञ्जालमा विभिन्न खाले टिका-टिप्प्णी आएका छन् ।

केही प्रयोगकर्ताले प्रधानमन्त्री ओलीले आफ्नो पदीय हैसियतभन्दा पर गएर बोलेको बताएका छन् भने कोही प्रयोगकर्ताले बेशोमती बानी देखाएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *