सर्वोच्चको फैसलापछि नै हामी ‘स्वतन्त्र’ भएका हौं : बेदुराम भुसाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पक्षका नेता तथा राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसालले संसद् सचिवालयमा ‘मलाई स्वतन्त्र सांसदको व्यवहार गरियोस्’ भनेर पत्र पठाएपछि एमाले वृत्तभित्र विभिन्न खाले विश्लेषण भइरहेका छन् ।

नेता भुसालले अचानक आफूलाई ‘स्वतन्त्र सांसद’को हैसियतमा राख्न माग गर्दै पत्र पठाएपछि भुसालले नेपालको साथ छोडेकोसम्मका विश्लेषणहरु भइरहेका छन् । तर, नेता भुसालले भने आफूले सर्वोच्च अदालतले निर्णय संसद् सचिवालयलाई ‘सम्झाएको’ मात्रै बताएका छन् ।
नेता भुसालले मकालुखबरसँग भने— ‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले नेकपाको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका सबै जनप्रतिनिधिहरु दलविहीन अर्थात् स्वतन्त्र हुनुपरेको सर्वविदितै छ । तत्पश्चात् म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’

नेता नेपालको साथ छोड्नुभएको आकलन पनि भइरहेको छ नि ? भन्ने प्रश्नमा नेता भुसालको जवाफ छ— ‘साथ छाड्ने र रोज्ने कुरै छैन । म एमाले पार्टीको एउटा नेता हुँ । कसैको साथ छाड्ने र कसैको साथ लाग्ने कुरा नै छैन नि ।’

नेता भुसालले आफू नेता नेपालकै साथमा रहेको घुमाउरो पारामा स्वीकार गरेका छन् । भन्छन्— ‘मेरो कुरा यति हो कि, नवौं महाधिवेशनबाट के के कार्यनीतिहरु छन् । अनुशासनहरु छन् त्यो चाहिँ पार्टीभित्र पालना हुनुपर्छ । खासगरी नवौं महाधिवेशनबाट निर्वाचित जो अध्यक्ष हुनुहुन्छ, प्रथमतः उहाँले नै नीति तथा अनुशासनको पालना गर्नुपर्ने देखिन्छ ।’

पार्टी एकता कायम रहन्छ
नेता भुसालले एमाले एकता कायम रहने जिकिर पनि गरे । त्यसको लागि नवौं महाधिवेशनबाट निर्वाचित सबै नेताहरुले विधि, नीति, अनुशासन र विधानसम्मत् काम गर्नुपर्ने उनको भनाइ छ । भन्छन्— ‘अहिले एमालेको दुवै पक्ष नवौं महाधिवेशनसम्मत् छैनन् । एमाले एकता कायम रहनको लागि नवौं महाधिवेशनसम्मत् चल्नुपर्छ ।’

बालुवाटारले आउँदो १६ गतेको लागि दशौं महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । स्रोतकाअनुसार उक्त बैठकबाट नयाँ आयोजक समितिको निर्माण गर्ने तयारी छ । यसअघि गठित यो समितिमा विपक्षी एमालेका नेता नेपालसँगै झलनाथ खनाललगायतका नेताहरु पनि छन् । यसअघि नै आफूअनुकूल स्थायी कमिटी बनाएका अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक समिति पनि आफूअनुकूल नै बनाउने तयारी गरेको उनी निकटस्रोतले बताएको छ । संस्थापन पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गले मकालुखबरसँग भने— ‘१६ गतेको बैठकमा समसामयिक राजनीतिको सन्दर्भमा केही फराकिलो निर्णय हुन्छ ।’

संस्थापन पक्षले बोलाएको १६ गतेको बैठकबारे भने आफू अनभिज्ञ रहेको नेता भुसाल बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *