सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने पुल भासियो, आउजाउमा रोक

धनगढी । कर्णालीमा पानीको बहाव बढेपछि कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिकाको सीमा रहेको सत्ती पुल भासिएको छ । हुलाकी राजमार्गअन्तर्गत निर्माण भएको यो पुलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्छ ।

नदीले पूर्वतर्फको भाग काट्न थालेपछि सोहीतिर पुल भासिएको इलाका प्रहरी कार्यालय सत्तीका इन्चार्ज प्रहरी नायव निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । पुल भासिएपछि पुलमा आवागमन बन्द गरिएको उनले बताए । पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो । यो पुल निर्माण भएपछि कैलाली र बर्दिया जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।

पुल रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि समयावधिभन्दा झण्डै नौ महिनाअगाडि निर्माण सम्पन्न गरेको थियो । पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मतसम्भार गर्दै आए पनि गत वर्षदेखि मर्मत हुन सकेको छैन । भासिएको भाग मर्मत हुन नसक्दा राजापुरतर्फको भाग भासिएर आवागमन अवरुद्ध भएको छ । साथै पुल भन्दा तलको श्रीलंका, तोलीगाउँलगायत बस्ती जोखिममा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *