गण्डकी प्रदेश

मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, मनाङ्गेलाई साबिककै मन्त्रालय

पोखरा । गण्डकी प्रदेश सरकारले आइतबार (भोलि) सम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने भएको छ । बिनाविभागीय मन्त्री तथा सरकारका प्रवक्ता कुमार खड्काकाअनुसार भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी तयारी भइरहेको छ । खड्काले मकालुखबरसँग भने— ‘मुख्यमन्त्रीज्यूले भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थाल्नुभएको छ । त्यही कामका लागि हामी जुटिरहेका छौँ । सबै दलका नेतासँग आवश्यक सम्वाद बढाएका छौँ ।’

तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनबाट विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सदनबाट विश्वासको मत लिइसकेका छन् । गत असार ३ गते नै विश्वासको मत लिइसकेका मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद्लाई पूर्णता दिन भने सकेका छैनन् । कांग्रेसकै खड्कासहित माओवादी र जसपाका एक/एकजना र स्वतन्त्र सांसद दीपक मनाङ्गे उर्फ राजीव गुरुङले भने गत जेठ २९ गते नै बिनाविभागीय मन्त्रीको रुपमा शपथ लिइसकेका छन् । ‘अब भने मन्त्रालय बाँडफाँटको काम चाँडै टुङ्गिन्छ’, खड्काले भनेका छन् ।

मुख्यमन्त्री पोखरेलले शुक्रबार (हिजो) नै मन्त्रालय बाँडफाँटको काम टुङ्ग्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका थिए । तर, समय अपुगसँगै दलहरुसँग कुरा नमिनलेपछि मुख्यमन्त्री पोखरेल रोकिएका थिए । एक कांग्रेस नेताले भने— ‘केन्द्रसँग पनि यो बारेमा कुराकानी भइसकेको छ र त्यहाँबाट एक खाले डिसिजन आएको छ । अब आज वा भोलिभित्र चाहिँ मन्त्रालय बाँडफाँटको काम सकिन्छ ।’

अहिलेसम्म भएको सहमतिअनुसार जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयको जिम्मेवारी पाउँदैछन् । यद्यपि उनको दाबी अर्थ मन्त्रालय थियो । मकालुखबरसँगको कुराकानीको क्रममा आचार्यले भने— ‘मुख्यमन्त्रीज्यूसँग सहमति भएअनुसार भयो भने हामी सरकारमा गइहाल्छौँ । तर, त्यो छाटकाँट देखिँदैन । हामी सरकारमा नजान पनि सक्छौँ ।’

यस्तै नेकपा माओवादी केन्द्रका मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्याको मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् भने कांग्रेसकै खड्काले सामाजिक विकास मन्त्रालय पाउने भएका छन् ।

यता मनाङ्गेले साबिककै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनेछन् । एमाले नेतृत्वको सरकारमा पनि मनाङ्गेले सोही मन्त्रालय पाएका थिए । अहिले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउन निर्णायक भूमिका खेलेका मनाङेले पनि यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *