मनाङ्गे–प्रचण्डबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेबीच भेटवार्ता भएको छ । मनाङ्गेले अध्यक्ष प्रचण्डलाई आइतबार (आज) खुमलटारमै भेटेका हुन् । गण्डकीका मन्त्रीसमेत रहेका मनाङ्गले अध्यक्ष प्रचण्डसँग समसामयिक राजनीतिक विषयमा बृहत् छलफल भएको बताएका छन् । अध्यक्ष प्रचण्डसँगको भेटवार्तापछि फेसबूकमार्फत तस्बिरहरु सार्वजनिक गर्दै मनाङ्गेका भनेका छन्— ‘बृहत् छलफल भयो ।’

पछिल्लो समय गण्डकीमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनलाई साथ दिई प्रदेशमै निर्णायक बनेका मनाङ्गेले पछिल्लो समय प्रदेशको शक्तिशाली मन्त्रालयको ‘बार्गेनिङ्ग’ गरिरहेका छन् । अध्यक्ष प्रचण्डनिकटका एक नेताले मकालु खबरसँग भने— ‘अध्यक्षज्यू र उहाँ (मनाङ्गे) बीच समसामयिक विषयवस्तुमा छलफल भयो भन्ने सुनेँ । प्रदेशकै कुरा लिएर उहाँ आउनुभएको भन्ने बुझेँ । अन्य केही राजनीतिक विषयवस्तुहरु होलान् नि त ।’

गण्डकीमा मुख्यमन्त्रीमा कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल आएका छन् । विश्वासको मत लिइसकेका उनले मन्त्रालय बाँडफाँट गर्न सकेका छैनन् । यसैबीच मनाङ्गेले पनि आफूले शक्तिशाली मन्त्रालय पाउनुपर्ने बताउँदै आएका छन् । यद्यपि मनाङ्गेले मन्त्रीको शपथ भने लिइसकेका छन् । ११ मन्त्रालयमध्ये शक्तिशाली मानिएको अर्थ मन्त्रालय जसपाले पाउने निधो भइसकेको छ । त्यसपछि आन्तरिक मामला र भौतिक पूर्वाधार मन्त्रालयका लागि कांग्रेस माओवादी र मनाङे संघर्षमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *