आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गर्दै पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार (आज) आफूनिकटका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दैछन् । आउँदो भदौमा हुने कांग्रेसको १४औं महाधिवेशनकेन्द्रित छलफल गर्न नेता पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन् । नेता जीवन परियाकाअनुसार नेता पौडेलले छलफलमा आफूनिकटका सबै केन्द्रीय सदस्यलाई बोलाएका छन् ।

१४औं महाधिवेशन नजिकिएसँगै कांग्रेसमा दौडधुप शुरु भएको छ । पौडेलले पनि आफूलाई सभापतिको उम्मेदवारको रुपमा चिनाइरहेका छन् । त्यस्तै वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, शशांक कोइराला, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायत पनि सभापतिको आकांक्षी छन् ।

नेता पौडेलले आफूले आफूनिकटका नेताहरुसँग छलफल गरेपछि उम्मेदवारीको घोषणा गर्ने बताएका छन् । नेता पौडेलले बिहीबार (हिजो) को लागि बैठक बोलाएका थिए । तर, विपक्षी गठबन्धनको पत्रकार सम्मेलनसँग जुधेपछि स्थगित गरेका थिए ।

कांग्रेसले महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेगरी कार्यतालिका अनुमोदन गरेको छ । अहिले क्रियाशील सदस्यता छुट्याउने काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *