सर्वोच्चको फैसलाको विकल्प खोज्दै प्रधानमन्त्री, आफूनिकट नेताहरुसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकटका नेताहरुसँग छलफल गरिरहेका छन् । मंगलबार (हिजो) सर्वोच्च अदालतले २० मन्त्रीलाई पदमुक्त गरिदिएपछि प्रधानमन्त्री ओली आफूनिकटका नेताहरुसँग छलफलमा जुटेका हुन् । नेता सुवासचन्द्र नेम्वाङ्गकाअनुसार बालुवाटारमा मंगलबारको सर्वोच्चको फैसलाकै विषयमा छलफल भइरहेको छ । ‘हिजोको सर्वोच्चको फैसलाले धेरै प्रश्नहरु खडा गरेको छ,’ नेता नेम्वाङ्गले मकालु खबरसँग भने— ‘स्वाभाविक रुपमा कुराकानी भइरहेकै छ ।’

यसअघि प्रधानमन्त्री ओलीले पदमुक्त भएका मन्त्रीहरुसँग छलफल गरिसकेका छन् । छलफलमा सर्वोच्चको यो फैसलापछि कसरी अगाडि जाने ? भनेर पदमुक्त मन्त्रीहरुलाई सोधेका थिए । सँगै प्रधानमन्त्री ओलीले भनेका थिए— ‘पार्टीमा छलफल गर्छु त्यसपछि निर्णय लिन्छु । तपाईंहरुले धैर्य गर्नुस् ।’

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले आजको बैठकबाट अरु विकल्पबारे छलफल गर्नेछन् । ‘प्रधानमन्त्रीसँगै सिङ्गो पार्टी नै असन्तुष्ट छ सर्वोच्चको फैसलाबाट,’ स्रोतले भन्यो— ‘फैसला मानिन्छ । तर, यसले एकदमै नराम्रो नजिर बसाएको छ ।’ स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई क्वार्टर नछाड्न निर्देशन दिएका छन् । सोहीअनुरुप कुनै पनि मन्त्रीले क्वार्टर छाडेका छैनन् ।

छलफलमा नेम्वाङ्गसँगै विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरु सहभागी छन् । स्रोतले भन्यो— ‘नेताहरुबीच सर्वोच्चको फैसलाको विकल्पबारे छलफल भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *