स्वास्थ्य सामग्री पुर्‍याउन हिँडेकी अस्मिताको हत्या पुष्टि भएको प्रहरीको भनाइ

धनगढी । स्वास्थ्य सामग्री पुर्‍याउन अस्पताल जाने क्रममा डडेल्धुराको जङ्गलमा मृत भेटिएकी महिलाको हत्या गरिएको पुष्टि भएको प्रहरीले बताएको छ । शव पोष्टमार्टम रिपोर्टबाट परशुराम नगरपालिका-८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले बताए ।
शव परीक्षण रिपोर्टबाट हत्या भएको पुष्टि भएको र अहिले सोही आधारमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए । जोगबुढा अस्पतालका चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

उनले हत्या भएको पुष्टि भएको र बलात्कारपछि हत्या गरिएको हो वा होइन भन्ने विषयमा थप अनुसन्धान गर्न डीएनए परीक्षण गर्नुपर्ने जानकारी दिए । चिकित्सकले संकलन गरेका नमूना चिकित्सकको सुझाव अनुसार परीक्षणका लागि प्रहरीले काठमाडौं पठाउने तयारी गरेको छ ।

असार २ गते स्वास्थ्य सामग्री पुर्‍याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामी ५ गते शनिबार स्थानीय हटवानी सामुदायिक वनमा मृत फेला परेकी थिइन् । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, इलाका प्रहरी कार्यालय जोगबुढाका अतिरिक्त प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालय धनगढीबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *