सुदूरपश्चिमको बजेटमाथि छलफल : सत्तापक्षकै सांसदद्वारा आलोचना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ल्याएको बजेटमाथि सोमबारदेखि छलफल सुरु भएको छ । बजेटमाथिको छलफलका क्रममा सत्ता पक्षकै सांसदले आलोचना गरेका छन् ।

नेकपा एमालेका सांसद अमरबहादुर साउदले नयाँ बजेट विगतभन्दा फरक नभएको बताए । उनले पुरानै शैलीले बजेट ल्याइएको बताए । विगत चार वर्षसम्म रातो किताबमै रहेको बजेट अहिले पनि दोहोरिएर आएको उनले बताए । उनले योजनाहरुको संख्याअनुसार बजेट पर्याप्त नभएका कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद प्रेमप्रकाश भट्टले विगतमा भन्दा आगामी वर्षका बजेटको आकार घटेर आएकोमा आपत्ति जनाए । उनले सानो आकारको बजेट ल्याउँदा प्रदेश गौरबका आयोजना जीर्ण हुने अवस्थामा आइरहेको बताए । ‘सुरुका वर्षमा १० करोट छुट्याइएको योजनामा यस वर्ष साढे ३ करोड रुपैयाँ छुट्याइएको अवस्था छ,’ उनले भने ।

साथै उनले बजेटमा आन्तरिक राजस्व वृद्धि गर्न जलविद्युत, उद्योग, कलकारखानाको स्थापनाले प्राथमिकता पाउनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । उनले अहिलेको बजेटमा सांसद र स्थानीय तहहरूलाई बाइपास गरेर योजना समावेश गरेकोप्रति आक्रोश व्यक्त गरे । बजेटमाथि थुप्रै प्रश्न उठाएका उनले सत्ता पक्षकै सांसद भएकाले बजेटमा आफ्नो समर्थन रहेको भन्दै धारणा टुंग्याए ।

मौनतालाई कजोर ठानियो : कांग्रेस
बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दलका सांसदहरुले पनि बजेटको आलोचना गरेका छन् । सांसद कर्णबहादुर मल्लले प्रदेश सरकारको बजेट कार्यकर्ता पोस्ने खालको र कोरोना महामारी रोकथाम तथा नियन्त्रणप्रति केन्द्रित नभएको बताए ।

सदनलाई छलेर, झुक्याएर, अपमानित गरेर आएको बजेट जनताप्रति उत्तरदायी हुन नसकेको बताए । उनले प्रदेशसभा सदस्यका सुझावहरु बजेटमा नसमेटिएकोसमेत बताए । ‘बजेटमा प्रतिपक्षको मौनतालाई कमजोरी ठानिएयो,’ उनले भने, ‘विचौलियाको माध्यमबाट आएको बजेट विचौलियाकै हितका लागि आएको छ ।’

नेपाली कांग्रेसका अर्को प्रदेशसभा सदस्य टेकबहादुर रैकाले आगामी वर्षका लागि आएको बजेट विगतमा ल्याइएका बजेटभन्दा कुनै फरक नभएको बताए । उनले आफूले पाएका योजनाहरुसमेत सम्बन्धित मन्त्रालयले नहेरिदिएको आरोप लगाए ।

उनले यसअघि आफूले पाएको योजना फिर्ता गर्न तयार रहेको भन्दै आक्रोश व्यक्त गरे । ‘मेरो क्षेत्रका लागि जुन मन्त्रालयले जति दिनुभएको छ, त्यो फिर्ता गर्न तयार छु,’ उनले भने ।

आगामी आर्थिक वर्षका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेशसभामा ३० अर्ब ३३ करोड बराबरको बजेट असार एक गते सभामा प्रस्तुत गरेका थिए ।

प्रदेशसभामा बजेट प्रस्तुत भएको एक सातापछि सोमबारदेखि छलफल सुरु भएको छ । बजेटमाथिको छलफलका लागि आइतबार नै बैठक बोलाइएको भएपनि रातो किताव वितरण भइनसकेका कारण बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *