बाँस्कोटा भन्छन्- पार्टी एकताको ‘खिचडी’ पाक्दैन कि के हो ?

कठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमाले एकता कायम राख्ने भनेर लागेका नेताहरु नै थाकेको टिप्पणी गरेका छन् । बाँस्कोटाले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत यस्तो टिप्पणी गरेका हुन् । बाँस्कोटाले भनेका छन्— ‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ?’

बाँस्कोटाले पार्टी एकता कायम रहनेमा शंका व्यक्त गरेका छन् । एकताको खिचडी पाक्नुको साटो चुल्होबाट धुँवासमेत नआएको बताउँदै बाँस्कोटाले थप भनेका छन्— ‘खिचडी पाक्ने त हो कि होइन, धुवाँएको पनि देखिएन । कि असारे झरीमा झुर्का भेटिएन ?’

अदालतमा विपक्षी एमालेका सांसदहरुले बुझाएको हस्ताक्षर फिर्ता हुनुपर्ने संस्थापन पक्षको माग छ । उक्त माग पूरा नभए पार्टी एकता कायम राख्न नसकिने बाँस्कोटाको छनक छ । ‘अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने, त्यो नमान्ने भए भो छोड्दिम । झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम,’ बाँस्कोटाले भनेका छन् ।

यता संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ्ग, विष्णुप्रसाद पौडेल र इतर पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेशकुमार भट्टराईलगायतका नेताहरुले भने पार्टी एकता कायम राख्न सकिने दाबी गरिरहेका छन् । तर, ठोस निर्णय भने गर्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *