नयाँ मेडिकल कलेज रोकिएको ‘इख’ले अन्सारीले किने नेपाल मेडिकल कलेज

काठमाडौं । नेशनल मेडिकल कलेज वीरगन्जका सञ्चालक बसरुद्दिन अन्सारीले काठमाडौंमा सञ्चालनमा रहेको नेपाल मेडिकल कलेजको झण्डै आधा (४९ प्रतिशत) सेयर किन्ने भएका छन् । खरिदकाे सम्झौता भइसकेको र पैसा तिरेर सेयर नामसारी गर्न मात्रै बाँकी रहेको अन्सारीले मकालु खबरलाई जानकारी दिए । घट्टेकुलोमा काठमाडौं नेशनल मेडिकल कलेज सञ्चालन गर्न खाेज्दा बिबाद भएपछि उनले चलिरहेकै मेडिकल कलेजको सेयर खरिद गर्ने भएका हुन् ।

‘मेडिकल शिक्षाका लागि काठमाडौं उर्वर ठाउँ हो,’ उनले भने, ‘मैले जानेको पेशा वा व्यवसाय पनि मेडिकल सेवा वा मेडिकल शिक्षा नै हो । आफूले जानेकै पेशा गरौं, गुणस्तरीय मेडिकल शिक्षा दिऊँ भनेर काठमाडौं मेडिकल कलेज खोलेँ । सञ्चालनमै आउन दिइएन । त्यही इखले बाध्य भएर मैले चलिरहेकै मेडिकल कलेजमा लगानी गर्ने निर्णय लिएको हुँ ’ उनले भने ।

नेपाल मेडिकल कलेजका सबैभन्दा ठूला सेयरधनी बन्दै अन्सारी

काठमाडौं नेशनल मेडिकल कलेजको सञ्चालन रोकिएपछि काठमाडौंमा मेडिकल कलेज सञ्चालन गर्ने अन्सारीको योजना सफल हुन सकेन । यसैबीच उनले जोरपाटीमा चलिरहेको नेपाल मेडिकल कलेजका केही सञ्चालकले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्ने निर्णय गरेपछि काठमाडाैंमा मेडिकल कलेज चलाउने योजना सफल बनाएका हुन् ।

‘नेपाल मेडिकल कलेजमा ५० जना सेयरधनी रहेछन्,’ उनले भने, ‘मैले लिने ४९ प्रतिशत सेयर मध्ये ७ जनाको ठूलो संख्यामा सेयर छ भने केहीको स–सानो सेयर छ ।’

उक्त मेडिकल कलेजमा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको पनि १४ प्रतिशतभन्दा बढी सेयर लगानी छ । रिजालले भने सेयर यथावत् राख्ने भएका छन् ।

‘कानुन अनुसार खरिद गरेको निश्चित समय अवधि पूरा नभई संस्थापक सेयर बेच्न मिल्दैन,’ अन्सारीले भने, ‘त्यसैले अहिले बिक्री गर्न मिल्ने २५ प्रतिशत सेयरको भने पैसा भुक्तानी गरी मेरो नाममा नामसारी गर्ने तयारी गरिरहेका छौं । बाँकी सेयर पनि बिक्री गर्न मिल्ने भएपछि यसरी नै मेरो नाममा नामसारी हुने छ ।’

कलेजको ४९ प्रतिशत सेयर खरिद गर्न १ अर्ब ७० करोड रुपैयाँ लाग्ने उनले बताए । यसका लागि कुमारी र सिभिल बैंकले लगानी गर्ने सुनिश्चित भएको उनले बताए । ‘अर्बौंको खरिद आफ्नै खल्तिको पैसाले गर्न सकिँदैन,’ उनले भने, ‘ठूलो कारोबारमा बैंककै भर पर्नु पर्ने हुन्छ ।’

नेपाल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलसँग ७ सय शय्या छन् । यस कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा मेडिकल कलेज सञ्चालन गरिरहेको हो । अन्सारीले वीरगन्जमा सञ्चालन गरेको नेशनल मेडिकल कलेज भने त्रिविबाट सम्बन्धन प्राप्त छ ।

यसरी रोकियो काठमाडौं नेशनल मेडिकल केलज सञ्चालन

२०७४ साल साउनमा काठमाडौं नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले सञ्चालका लागि सम्बन्धन दिएको थियो । तर, काठमाडौं उपत्यकामा तत्काल थप मेडिकल कलेज सञ्चालन गर्नु नहुने, मापदण्ड नपुगेका कलेजलाई सम्बन्ध दिनु नहुने माग गर्दै डा. गोविन्द केसी अनशनमा बसे । केसीको १२ अनसनपछि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त मेडिकल कलेजको सम्बन्धन खारेज गर्न निर्देशन दिए ।

त्रिविले उक्त मेडिकल कलेजको पूर्वाधारको स्थलगत निरीक्षण गर्न समिति बनायो । उक्त समितिले मापदण्डअनुसार पूर्वाधार नपुगेको निष्कर्षसहितको प्रतिवेदन त्रिविमा पेश गर्याे । त्यसपछि त्रिवि कार्यकारी परिषद्ले पुनः २०७४ भदौमा उक्त कलेजको सम्बन्धन खारेज गर्याे ।

सञ्चालक अन्सारीले २०७४ असोज ३१ गते सम्बन्धन खारेजीको निर्णय कार्यान्वयन नगराउन आदेश माग्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । रिटको सुनुवाई गर्दै अदालतले २०७४ कात्तिक ८ गते सम्बन्धन तत्काल खारेज नगर्न आदेश दियो । तर, सर्वोच्चको उक्त आदेश कार्यान्वयन नभएका कारण कलेज हालसम्म सञ्चालनमा आउन सकेको छैन ।

सञ्चालक अन्सारी भन्छन्– ‘सर्वोच्च अदालतले काठमाडौं नेशनल मेडिकल कलेज सञ्चालनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्नु भन्ने आदेश दिएको छ । तर, त्यो आदेश समेत कार्यान्वयन भएको छैन । सरकारले काठमाडौं मेडिकल कलेजलाई चाँडै चल्ने वातावरण बनाउनु पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *