डडेल्धुरामा महिला मृत्यु: आरआइटीसहित प्रहरीका दुई टोली परिचालन

धनगढी । डडेल्धुराको जंगलमा महिला मृत फेला परेको घटनाका विषयमा अनुसन्धानका लागि धनगढीबाट छुट्टाछुट्टै दुईवटा प्रहरी टोली परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयले प्रदेश प्रहरी अनुसन्धान समूह (आरआईटी)सहित दुई प्रहरी टोली परिचालन गरेको जनाएको छ ।

शनिबार परशुराम नगरपालिका-८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी जंगलमा मृत भेटिएकी थिइन् । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयबाट प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले जानकारी दिए ।

यो पनि : स्वास्थ्य केन्द्रमा कार्यरत महिलाको शव फेला, हत्याको आशंका

त्यस्तै, सोही घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोली पनि खटाइएको उनले बताए । उनकाअनुसार आरआईटीका नायब निरीक्षक पदम थापाको कमाण्डमा टोली परिचालन गरिएको छ । दुवै टोली आइतबार बिहानै डडेल्धुरातर्फ लागेका हुन् ।

यही असार २ गते स्वास्थ्य सामग्री पुर्‍याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामीको शनिबार स्थानीय हट्वानी सामुदायिक वनमा शव फेला परेको थियो । परीक्षणका लागि महिलाको शव अहिले जोगबुढा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

स्थानीयकाअनुसार उनको शरीरमा निलडाम छन्, भने उनले प्रयोग गर्ने मोबाइल भेटिएको छैन । प्रहरीले भने पोष्टमार्टम रिपोर्टपछि मात्रै हत्या वा आत्महत्याबारे थाहा हुने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *