उपेन्द्र यादवपक्षीय जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक बिहीबार (आज) बिहान ११ बजे बस्ने नेता रामसहाय प्रसाद यादवले मकालु खबरलाई जानकारी दिए । बैठकमा खासगरी निर्वाचन आयोगको पछिल्लो निर्णयबारे विशेष रुपमा छलफल हुने नेता यादवले बताए । भने— ‘अरु राजनीतिक छलफल त भइहाल्छ । त्योसँगै खास रुपमा निर्वाचन आयोगले हाम्रो पार्टीको सन्दर्भमा गरेको निर्णयबारे छलफल हुन्छ ।’

यसैगरी बैठकमा जसपाको वैधानिकता दाबी गर्ने विषयमा निर्वाचन आयोगसँग परामर्श गर्नेसहित अन्य संवैधानिक उपायबारे छलफल हुनेछ । ‘पछिल्लो पटक निर्वाचन आयोगको निर्णयसँग हाम्रो पार्टीको असन्तुष्टि छ । त्यस विषयमा आयोगसँ थप छलफल गर्ने कि भन्ने कुरा पार्टीमा चलिरहेको छ । यिनै विषयमा आजको बैठकमा केही छलफल तथा निर्णयहरु हुन्छन् भन्ने छ,’ नेता यादवले भनेका छन् ।

बैठकलाई महन्थ ठाकुरपक्षीय जसपाले भने बहिस्कार गरेको छ । ठाकुरले विज्ञप्ति नै जारी गर्दै यादवले बोलाएको बैठकमा सहभागी नहुन भनेका छन् । ठाकुरपक्षीज जसपाको तर्क छ— ‘यादवले बोलाएको बैठक अवैधानिक हो । त्यसैले कोही सहभागी नहोऔँ ।’

यसअघि यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाट निष्कासन गरेका थिए भने लगत्तै अध्यक्ष ठाकुरले पनि यादवलाई पार्टीबाट निकालेका थिए । त्यसपछि दुवै पक्षले निर्णय अद्यावधिक गरिदिन निर्वाचन आयोगलाई पत्राचार गरेका थिए । तर, उनीहरुको निर्णय अमान्य भएको आयोगले फैसला सुनाइसकेको छ । त्यसपछि असन्तुष्टि देखिएको यादवपक्षीय जसपाले यही विषयको वरिपरी रहेको छलफल गर्न लागेको हो ।

प्रधानमन्त्री ओलीलाई साथ दिने कि नदिने भन्ने विषयमा नै राजनीतिक रुपमा दुई फ्याक भएका जसपाले पछिल्लो समय आपसलाई कारबाही गर्दै आइरहेको छ । यादवपक्षीय जसपाको अडान ओलीलाई विस्थापित गर्नुपर्ने थियो भने ठाकुर पक्षले आफ्नो माग पूरा गरे ओलीलाई नै साथ दिने बताउँदै आएको थियो । सोअनुरुप नै ठाकुरपक्षीय जसपा सरकारमा सामेल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *