बाढी/पहिरो

उद्धार र राहतमा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी तथा पहिलो पीडितहरुको उद्धार तथा राहत कार्यमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । महाविपद्मा एक हुनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले बाढी तथा पहिरो पीडितहरुको उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन दिएका हुन् ।

‘हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु । यस महाविपद्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु । राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दछु,’ बुधबार (आज) अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तै अध्यक्ष प्रचण्डले घाइतेहरुको निःशुल्क उपाचार गर्नसमेत भनेका छन् । बेपत्ताहरुको तत्काल खोजी गर्नसमेत अध्यक्ष प्रचण्डले सरकारसँग माग गरेका छन् ।

सरकारी रबैयाका कारण वर्षैजसो यस्तो विपद् आइलाग्ने गरेको पनि प्रचण्डको जिकिर छ । भनेका छन्— ‘मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो ।’

असार १ गतेदेखि भएको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोमा परी दजनौंले ज्यान गुमाएका छन् भने सयौं बेपत्ता भएका छन् । गएराति मात्रै मेलम्चीदेखि बाजुरासम्ममा बाढी पहिरोका कारण दर्जनौं घर विस्थापित भएका छन् ।

प्रेस विज्ञप्ति:—

केही दिन अघिदेखि परेको अविरल बर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दछु । बाढी र पहिरोमा परी निधन हुनुभएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढी र पहिरोमा परी हराई रहेकाहरुको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गर्दछु ।

बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको छ ।

मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो ।

हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु । यस महाविपत्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु । राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दछु ।

बाढीपहिरोमा परी ज्यान गुमाउनुभएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।
०२ असार, २०७८
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *