सेबोनकाे कदमप्रति नेप्सेकै अधिकारीको आपत्ती, भन्छन्– ‘नेप्सेले काउन्टर विज्ञप्ती जारी गर्न सक्दैन’

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नामै तोकेर ५१ ओटा कम्पनीको सेयरमा लगानी गर्नु जोखिमपूर्ण भनी विज्ञप्ती नै जारी गरेपछि यसको चर्को आलोचना सुरु भएको छ । अरु त अरु सेबोन अन्तर्गतकै दोस्रो बजारमा धितोपत्रको कारोबार गराउने र नियामकको समेत काम गर्ने नेपाल स्टक एक्सचेन्ज(नेप्से)का उच्च अधिकारीहरुले समेत बोर्डको उक्त कार्यको चर्को आलोचना गरेका छन् ।

बोर्डका एक उच्च अधिकारीले मकालु खबरसँग भने– ‘बोर्डले जारी गरेको विज्ञप्तीको विरोध नेप्सेले पनि विज्ञप्ती जारी गरेर गर्न सक्दैन । तर, बोर्डले गरेको यो काम कुनै हिसाबले सही होइन ।’

सही वा गलत थोरै सूचनाले पनि अहिलेको सेयर बजारका लागानीकर्तालाई ठूलो प्रभाव पार्ने अवस्थामा बोर्डले सूचीनै जारी गर्दा लगानीकर्तालाई झन् ठूलो संकट आउने उनको भनाइ छ ।

‘मानौं सेबोनले जारी गरेको सूचीमा रहेका ५१ ओटा कम्पनी मध्ये कुनै कम्पनीको सेयर मैले खरिद गरेको छु वा तपाइँले नै खरिद गर्नुभएको छ भने यो सूचीले ती कम्पनीको सेयर मूल्य घटाइदिँदा मेरो वा लगानीकर्ताको अवस्था कस्तो होला अनुमान गर्न सक्छौं,’ ती अधिकारीले भने, ‘ठूलो परिमाणमा सेयर किन्नेले त ठूलो घाटा व्यहोर्नु पर्ने अवस्था आउँछ ।’

हाल नेपालको सेयर बजारमा दैनिक २ सय २० हाराहारीका कम्पनीको सेयर कारोबार हुँदै आएको छ । यी मध्ये झण्डै २५ प्रतिशत कम्पनीको सेयर मूल्यलाई बोर्डले अस्वभाविक भन्नु नै गलत भएको विश्लेषण ती अधिकारीको छ ।

धितोपत्र बोर्डकै अधिकारीले सूचीमा राखेका ५१ ओटा कम्पनीको सेयर मूल्य घटाएर आफूले किन्नका लागि चलखेल गरे भनेर आरोप लगाउन पनि मिल्ने उनी बताउँछन् ।

‘संसारका कुनै पनि धितोपत्र वा सेयरको मूल्य कति हुँदा ठिक हुने हो भन्ने पत्ता लगाउने उपकरण वा सूत्र बनेको छैन,’ ती अधिकारीले भने, ‘पिई रेसियो, इपिएस रेसियो जस्ता टुलको प्रयोग गरेर हेर्दा सूचीमा रहेका कम्पनीको सेयर महँगो देखिएला तर अरु पनि यस्तो रेसियो र टुल छन् । ती रेसियोले हेदा फेरि मूल्य बढी वा अस्वभाविक नदेखिन सक्छ ।’

कम्पनीहरुले धितोपत्रको मूल्य बढाउन कुनै अनुमान सार्वजनिक गरेको भए, कुनै अपराध गरेको भए, सूचना लुकाएको भए कारवाही गर्न सकिन्छ । तर, यो कम्पनीको सेयर मूल्य महँगो भयो त्यसैले घट्नु पर्छ वा जोखिमपूर्ण हुन सक्छ भन्ने कुनै पनि अर्थमा सही मान्न नसकिने उनले बताए ।

सम्बन्धित समाचार

 ५१ कम्पनीको शेयरमूल्यमा चलखेल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *