नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहनको मुद्दा, कांग्रेसले जनायो आपत्ति

काठमाडौं । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दायर भएको छ । प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेशले आपत्ति जनाएको छ । वैद्यविरुद्धको मुद्दा तत्काल फिर्ता हुनुपर्ने बताउँदै बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले  भने— ‘माननीय नरोत्तम वैद्यविरुद्धको मुद्दा तत्काल फिर्ता भएन भने कांग्रेस जुनसुकै मुल्य चुकाउनुसमेत पछि पर्दैन ।’

वैद्यले बागमती प्रदेशको २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा जेठ २८ गतेको बैठकमा प्रधानमन्त्री ओलीप्रति आफू नाथुराम गोड्से बन्न पनि तयार रहेको भन्दै आपत्तिजनक शब्द प्रयोग गरेका थिए । त्यसलगत्तै पार्टीकै निर्देशनमा वैद्यले सदनबाटै माफी मागेका थिए । तर, वैद्यविरुद्ध युवा संघले मुद्दा दर्ता गराएको हो । नेता बानियाँले भने— ‘आत्मालोचना गरेर माफी मागिसक्नुभएको थियो माननीयज्यूले । फेरि कि यस्तो गरियो । मुद्दा तत्काल फिर्ता हुनुपर्छ ।’

कांग्रेसले वैद्यमाथि मुद्दा चलाउनु गैरसंवैधानिक कार्य भन्दै संविधानको बर्खिलापमा जान प्रहरी, अनुसन्धान अधिकारी र सरकारको कुनैपनि निकायलाई अधिकार नभएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *