जसपाबारे निर्वाचन आयोगको फैसला- दुवै पक्षको कारबाही अमान्य

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षले एक अर्कालाई कारबाही गरेर विवरण अद्यावधि गर्न निर्वाचन आयोगलाई दिएका निवेदनउपर निर्वाचन आयोगले आइतबार (आज) फैसला सुनाउँदै पुरानै पदाधिकारी रहने बताएका छन् ।

आयोगले महन्थ ठाकुर—उपेन्द्र यादव दुवै पक्षले गरेको कारबाहीलाई कानुनसम्मत् नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने फैसला सुनाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरु जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालको संयुक्त निर्णयका रुपमा निर्वाचन आयोगले जसपाका दुवै पक्षको निवेदनलाई खारेज गरिदिएको हो ।

आयोगको फैसलामा भनिएको छ— ‘एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानुन र दलको विधानसम्मत् मान्न मिलेन । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरी अद्यावधिकका लागि अनुरोध भई आएकोमा माग बमोजिम अद्यावधिक गर्न मिलेन ।’

यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने ठाकुरले यादवलाई निष्कासन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *