सुदूरपश्चिम प्रदेशसभामा उठ्यो भारतसँग तारबार गर्नुपर्ने आवाज

धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठकमा नेपाल–भारत सीमामा तारबार गर्नुपर्ने आवाज उठेको छ । आइतबार बसेको संसद् बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेक्रममा आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य तारालामा तामाङले यस्तो आवाज उठाएका हुन् ।

भारतले जहिले पनि जमिन अतिक्रमण गर्ने, डर धम्की दिने काम विगतदेखि गर्दै आएको भन्दै उनले यसको दिर्घकालिन समाधानका लागि सीमामा तारबार आवश्यक रहेको उनले बताए । ‘दुई दाइ-भाइबीच सीमा छुट्याउँदा पर्खाल बन्छन् भने दुई राष्ट्रबीच नहुने भन्ने हुँदैन,’ उनले भने, ‘सीमा क्षेत्रका जनताले धेरै सास्ती खेपिसके । नेपाली भूमि पनि अतिक्रमण हुँदैछ । यसलाई रोक्न तारबार आवश्यक छ ।’

उनले प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि सीमा सुरक्षाका लागि केन्द्रसँग समन्वय गरेर केही कार्यक्रम समेटिनुपर्ने बताए । उनले यसमा प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने बताए । नेपाल भारत हुने आवतजावतलाई पनि सरकारले व्यवस्थित गर्नुपर्ने उनले बताए ।

प्रदेश सरकारमाथि प्रश्न
सांसद तामाङ नीति तथा कार्यक्रमका विषयमा बोल्दै उनले सरकारले गरेको कमीकमजोरीका विषयमा संसदमा निर्धक्क रुपमा राख्नुपर्ने बताए । ‘नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी भएको छ,’ उनले भने, ‘राम्रो मात्रै भन्नुपर्ने हो भने यतिका दिन किन बोल्न दिइएको छ ?’

समर्थनको नाममा फुलबुट्टा पारेर भोलि जनताले के भन्लान् भन्नेतर्फ पनि सचेत हुनुपर्ने उनले बताए । ‘हामीले बोल्दा निर्धक्क बोल्नुपर्छ, निर्धक्क बोल्न नेतृत्वले सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने, ‘धेरै प्रसंशा गर्नुैपर्ने त देख्दिनँ । विपक्षीले पनि धेरै प्रशंसा गरेको देखेर भुमरीमा फस्ने हो कि भन्ने लाग्यो । मैले पनि राम्रै भन्नुपर्छ ।’ सांसद तामाङले व्यंग्यात्मक रुपमा भने, ‘नीति तथा कार्यक्रम राम्रो छ, सबैले समर्थन गरौं ।’

यसअघि प्रदेश सरकार विस्तारका क्रममा संसदीय दलको प्रमुख सचेतक रहेका तामाङलाई जिम्मेवारीबाट हटाइएको थियो । उनी अहिले माधव समूहमै रहेपनि जिम्मेवारीबाट हटेपछि असन्तुष्ट देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *