आत्मालोचना गर्दै वैद्यले मागे माफी

काठमाडौं । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभाको बैठकमा आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन् । प्रदेश सभाको शनिवार बसेको बैठकमा बोल्दै वैद्यले आफू प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएको र आवेगमा आएको बखत ती शब्दहरुले आफ्नो मुखबाट फुत्किएको बताए ।

वैद्यले शुक्रवार बागमती प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफैं बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । स्मरण रहोस्, गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

संविधानमा व्यवस्था भएअनुसार आफूले आफ्नो अभिव्यक्ति दिएको र पार्टीको निर्देशनअनुसार आफूले आत्मालोचना गरेको उनको भनाइ छ । आफू महात्मा गान्धीलाई मान्ने र शब्दले पनि कसैको मन दुखाउन नचाहेको भन्दै ओली प्रवृत्तिको कारण आक्रोशित भएर उक्त अभिव्यक्ति दिएको र आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना र माफी माग्दै संसद्को रेकर्डबाट त्यसलाई हटाउन सभामुख समक्ष आग्रह गरे ।

वैद्यले आत्मालोचना गर्दै माफी मागेकाले प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए । यसअघि वैद्यलाई पार्टीले पनि आत्मालोचना गरी माफी माग्नु भनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *