गण्डकी प्रदेश

यस्तो छ नयाँ सरकार गठनको प्रक्रिया

काठमाडौं । प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । गत वैशाख सबैभन्दा ठूलो दलका नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले जम्मा २७ मत पाए उनको विपक्षमा ३० मत पर्यो ।

योसँगै प्रदेशमा अर्को सरकार बन्ने बाटो खुला भएको छ । १६८ (३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८ (५) अनुसार नयाँ सरकार गठन हुनेछ । जसमा ‘उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ,’ भनिएको छ ।

यसपछि गण्डकीमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश सभाको विश्वासको मत प्राप्त गर्ने आधारका साथमा दाबी प्रस्तुत गर्न सभाका कुनै पनि सदस्यलाई समय दिनुपर्नेछ । त्यसपछि त्यो दाबी गर्ने प्रदेश सभा सदस्यले एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने हुन्छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनको तर्फबाट यसअघि नै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अघि सारिसकेको छ । विपक्षी गठबन्धनका तर्फबाट पोखरेलले मुख्यमन्त्रीको दाबी गर्नेछन् ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २७ सांसद छन् । यस्तै कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन तयार छन् । विहीबारको मतदानमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) अनुपस्थित भए भने राजमोका सांसद कृष्ण थापा तटस्थ रहे ।

धारा १६८(५) मुख्यमन्त्री नियुक्त हुन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेश सभा भंग हुनेछ र गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन घोषणा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *