पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ ।
गए राति गएको पहिराले घर पुरिँदा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए । यसैगरी, धवलागिरि गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको सकुशल उद्धार गरिएको उनले बताए ।
इलाका प्रहरी कार्यालय, दरबाङबाट गएको प्रहरी टोली र स्थानीयवासी मिलेर थापालाई उद्धार गरेका हुन् । गएरातिको वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी विभिन्न ठाउँमा पशु चौपाया र भौतिक संरचनामा क्षति पुगेको छ । पहिरोका कारण कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक अवरुद्ध बनेको छ । सडक योजना, पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरूले अवरुद्ध सडक खुलाउन प्रयासरत छन् ।








