‘मोटी भयौ’ भन्नेलाई प्रमिलाको जवाफ

काठमाडौं । व्यक्तिको शारीरिक बनावटका विषयमा टिप्पणी गर्नु ‘बडी सेमिङ’ गलत हो । कतिपय देशमा त यसलाई अपराध नै मानिन्छ । कसैको मोटोपन मजाकको विषय बन्छ भने कसैको दुब्लोपनबारे खिसिट्युरी गर्ने क्रम भने समाजमा छँदैछ ।

लामो नाक, कालो छाला, घुंग्रेको कपाल, अग्लो वा होचो शरीरलगायत धेरै  कुरालाई सुन्दरतासँग जोडेर हेर्ने गरिन्छ । अझभन्दा त मानक नै जस्तो  बनाएर विभेद गर्ने गरिन्छ ।

‘कस्तो मोटाको, अब कसले बिहे गर्छ ?  खाने बेलामा बाहिर निकाल्छन् कि के हो ? छि ! कस्ती काली, यस्तो नराम्रो अनुहार छ बिक्न गाह्रो होला ।’ यस्ता टिप्पणीहरु प्रशस्तै सुनिन्छन् ।

अझ मनोरञ्जनको क्षेत्रमा त महिलाको ‘शारीरिक सुन्दरता’लाई बढी नै ‘महत्त्व’ दिने गरिन्छ । केही समयअघिसम्म त नायिकाको विवाहलाई करियरको अन्त्य भन्ने गरिन्थ्यो । आकर्षक देखिन शरीर पातलो हुने पर्ने, छिनेको कम्मर हुनुपर्ने, अनुहारमा दाग धब्बा हुन नहुनेजस्ता स्थापित धारणा अझै पनि छँदैछन् ।

यही विषय रङ्गकर्मी प्रमीला खनाललाई पनि बिझाएको छ । उनलाई अरूको टिप्पणी सुनेर आफ्नो मोटोपनलाई अपराध झैँ लाग्ने गरेको छ । फेसबुकमा उनले लेखेकी छन् :

महाशयहरूको मोटोपनप्रतिको प्रतिक्रिया देख्दा/सुन्दा लाग्छ कि संसारमा मोटो मान्छे आफूमात्र रहेछु र  ठुलै अपराध गरेछु जस्तो ।

अझ ताज्जुब लाग्ने कुरा ‘पहिला राम्री थियौ‚ अहिले मोटाएछौ । ‘ यसको आशय के बुझ्नु ? संसारमा पातला र दुब्लाहरू मात्र राम्रा हुन्छन् ,हो ? कि मोटी केटीहरू राम्रा र सुन्दरी हुँदैनन् ? यस्तो टीकाटिप्पणीले मनोबलमा कति असर पुर्‍याउला ?

तुलना नै गर्ने हो भने मोटी केटीहरू विशेष राम्रा र विशेष प्रतिभाशाली हुन्छन्।।

(यो लेखबाट कसैलाई ठेस पुग्न गएमा क्षमा चाहन्छु)

‘पहिला त राम्री थियौ, अहिले मोटाएछौ’ भन्नु मोटोपन भएका व्यक्तिमाथि गरिने विभेदको एक उदाहरण हो । तर शारीरिक बनावटको आधारमा गरिएको विभेदको विषयमा लेख्दै गर्दा प्रमीला स्वयंले पनि विभेद भने गरेकी छन् ।

उनी लेख्छिन्, ‘तुलना नै गर्ने हो भने मोटी केटीहरू विशेष राम्रा र विशेष प्रतिभाशाली हुन्छन्।’ उनको अभिव्यक्तिमा पातलो व्यक्तिमाथिको तुलना र विभेद देखिन्छ ।

आफूमाथि भएका विभेदबारे प्रश्न उठाउनु र असहमति जनाउनु जायज हो । तर त्यसो गर्दा अरुलाई भने विभेद गर्नुलाई राम्रो मान्न सकिँदैन ।

आखिर सबै मानिस आफैंमा सुन्दर हुन्छन्‚ होइन र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *