कोरोनाविरुद्धको खोप

१२ हप्तामा दोश्रो डोज लगाउन नपाए सुरुदेखि नै लगाउनुपर्छ : भाइरोलोजिस्ट

अहिले कोरोनाविरुद्धका विभिन्न खोप आएका छन् । तर खोप पर्याप्त मात्रामा उपलब्ध नहुँदा अनेकौं प्रश्नहरु सोध्ने गरिएको छ । खोपबारे अल्पज्ञान र भ्रम पनि पाइएको छ । भाइरोलोजिस्टहरुले भने भ्रमकोपछि नलाग्न सुझाव दिएका छन् ।

हामीले भाइरोलोजिस्ट डा. बावुराम मरासिनी र भाइरोलोजिस्ट डा. बासुदेव पाण्डेसँग कुराकानी गरेर केही प्रश्नको समाधान खोज्ने कोसिस गरेका छौं :-

बुझ्नैपर्ने कुरा
हामीले पहिले नै लाउँदै आएकामध्ये कतिपय खोपहरुको पनि निश्चित समय हुन्छ । जस्तै डीपीटी ३ हप्ताको फरकमा लगाईन्छ । त्यसरी नै कोरोनाविरुद्धको खोप पनि १२ हप्ताभित्र दुवै डोज लगाइसक्नुपर्छ । पहिलो डोजले एन्टिबडी बनाउन थाल्छ र दोस्रो डोजले त्यसलाई छिट्टै ‘बुस्टअप’ गर्छ । यदि पहिलो डोज लगाएको ८ हप्ता र १२ हप्ताको बिचमा दोस्रो डोज नलगाएमा पहिलो डोज लगाउनुको कुनै अर्थ रहँदैन । कतिपयले खोपको अभाव भएर १२ हप्तापछि मात्र दोस्रो डोज लगाएको पनि पाइएको छ । त्यसो गर्दा खोपको मात्रा पूरा हुँदैन । त्यसैले यदि १२ हप्तापछि मात्र खोप लगाउन पाइएमा फेरि सुरुको डोजदेखि नै खोप लगाउनुपर्छ ।

ज्यानै जाने जोखिम
अहिले पहिलो डोजको खोप जुन कम्पनी र नामको छ दोस्रो डोजको खोप पनि त्यही कम्पनीको हुनुपर्ने की जुन कम्पनी र नामको भएपनि हुन्छ ? भन्ने धेरै प्रश्न र चासो देखिन्छ । यसमा बुझ्नैपर्ने कुरा के छ भने, नेपालमा अहिले चीन, बेलायत र भारतमा बनेका छुट्टै प्रविधि र विशेषता भएका खोप उपलब्ध छन् । चीनले बनाएको खोप भाइरसलाई कमजोर बनाउने र प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने गरी उत्पादन गरिएको छ भने बेलायतले उत्पादन गरेको खोपको प्रविधि र प्रकृती फरक छ ।

त्यसैले पहिलो डोज एउटा कम्पनीको र दास्रो डोज अर्कै कम्पनीको लगाउनु हुँदैन । यसले शरीरलाई धेरै नै बेफाइदा गर्छ । यो हानिकारक हुनसक्छ । यसले ज्यानै जाने जोखिमसमेत हुन्छ । तर, यदि प्रविधि एउटै प्रयोग गरेको खण्डमा एउटै कम्पनीको अर्को नामको खोप छ भने त्यो लगाउन सकिन्छ । त्यसमा नाम फरक भएर केही फरक पर्दैन । तर त्यसो गर्दा राम्रो बुझेर र प्रमाणित भएको छ छैन जाँचेर मात्र लगाउनुपर्छ ।

नेपालमा पहिलो डोज कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो डोज एस्ट्राजेनेका खोप लगाउने भनिएको छ । यसो गर्दा कुनै असर पर्दैन । किनभने यी दुवै खोप नाम फरक भएपनि एउटै प्रबिधिबाट बनाइएका खोप हुन् ।

के खोपको पहिलो डोजमात्र लगाएको व्यक्ति खोप नै नलगाएकाभन्दा सुरक्षित हुन्छ ?
कतिपय मानिसले पहिलो डोज मात्र लगाएका व्यक्तिमा पनि संक्रमणको जोखिम हुन्छ, उनीहरु खोप नलगाएका व्यक्ति जस्तै जोखिममै रहन्छन् भनिरिहेको पनि सुनिन्छ । तर, यो एकदमै गलत कुरा वा भ्रम हो । जब कुनै व्यक्तिले पहिलो डोज खोप लगाउँछ, उसको शरीर विस्तारै रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुदै जान्छ । पहिलो डोज खोप लगाएकालाई खोप नै नलगाएकालाई जस्तो संक्रमणको उच्च जोखिम हुँदैन । तर १२ हप्ताभित्र पनि दोस्रो डोज नलगाएमा भने फेरी खोप नलगाएकै अवस्थामा पुगिन्छ र संक्रमणको उच्च जोखिम नै रहन्छ ।

समयमा नै खोप लगाऔं
विभिन्न बैज्ञानिकहरुले गरेको परिक्षण र अनुसन्धानको आधारमा भन्नुपर्दा कोरोनाविरुद्धको खोप पूर्ण रुपमा प्रभावकारी रहेको प्रमाणित भइसकेको छ । त्यसैले आफुलाई उपयुक्त हुने समय र स्थान हेरेर सबैजनाले कोरोनाविरुद्धको खोप समयमा नै लगाउनुपर्छ । हामीले आफ्नो स्वास्थ्यबारे गम्भिर भएर मापदण्ड पूरा गर्ने र समयमा नै भ्याक्सिन लगाउने काम ग-यौ भने यो महामारीलाई परास्त गर्न सक्छौ । त्यसैले यो भाइरसविरुद्ध डटेर लड्न र यो बिषम परिस्थितीबाट छिटै बाहिर निस्कन सबैजनाले भ्याक्सिन अनिवार्य रुपमा लगाउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *