सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्विप

धनगढी । सुदूरपश्चिम एमाले संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

आजै प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदैछन् । सुदूरपश्चिममा पनि स्पष्ट विभाजन देखिएको एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन ह्विप नै जारी गरेको छ । माधवकुमार नेपाल समूहकाको बहुमत रहेको एमाले संसदीय दलले पार्टी केन्द्रीय कमिटीको निर्णयलाई बेवास्ता गर्दै यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका सांसदहरुले भने मत दिन नहुने बताएका छन् । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको सांसद पठान सिंह बोहोराले जानकारी दिए ।

यस्तो छ अंकगणित
५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री भट्टलाई वर्तमान सरकार टिकाउन २७ जना प्रदेश सासंदले साथ दिनुपर्ने हुन्छ । एमालेका २५ मध्ये केपी ओली पक्षमा ६ जना मात्रै स्पष्ट खुलेका छन् ।

यद्यपि आज मात्रै बल्देव रेग्मी ओली समूहमा लागेका छन् । योसँगै यो समूहमा खुल्ने सांसदको संख्या ७ पुगेको छ । यसअघि माया तामाङ्ग, पठानसिंह बोहरा, रतन थापा, ग्याल्बुसिंह बोहरा, लिलाधर भट्ट र नेपालु चौधरी ओली समूहमा थिए ।

५२ सदस्यीय प्रदेशसभा सरकार गठनका लागि २७ सांसद पुग्नुपर्छ । यो समीकरण पूरा गर्न माधव पक्षका १५ र माओवादी केन्द्रका १३ गरी २८ जना सांसद पुग्छन् । जनता समाजवादी पार्टीका दुई जना सांसद केन्द्रमा तत्कालीन राजपा पक्षका हुन् । केन्द्रमा सरकारलाई समर्थन गरेकाले यहाँ पनि सोहीअनुसार निर्णय हुनसक्ने देखिएको छ ।

के गर्छ कांग्रेस ?
नेपाली काँग्रेसका १२ सांसद छन् । कांग्रेसबिनै मत पुग्ने देखिन्छ । यद्यपि मत नपुग्ने अवस्था आए मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने सचेतक टेकबहादुर रैकाले जानकारी दिए । ‘हामी मत दिने बेला ‘नो भोट’को नीति लिन्छौं, उनले भने, ‘तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *