ललितपुर महानगरले माग्यो दोस्रो पटक खोप खरिद अनुमति

काठमाडाैँ । ललितपुर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै कोभिसिल्ड खोप खरिदका लागि नेपाल सरकारसँग अनुमति मागेको छ । कोभिसिल्ड पहिलो डोज लगाएकालाई धेरै समय रनभुल्लमा राख्न नसकिने भन्दै महानगरले स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई सोमबार पत्राचार गरी कोभिसिल्ड खोप खरिदका लागि अनुमति मागेको हो ।

‘अविलम्ब त्यहाँबाट कोभिसिल्ड खोप उपलब्ध गराइदिन हुन अनुरोध छ, त्यहाँबाट उपलब्ध हुन नसक्ने भएमा ललितपुर महानगरपालिकाले आफ्नै खर्चमा खरिद गर्न अनुमति उपलब्ध गराइ दिनहुन अनुरोध छ,’ महानगरको पत्रमा भनिएको छ ।

महानगरभित्र ११ हजार पाँच सय जनाले कोभिसिल्डको दोस्रो डोज लगाउन पाएका छैनन् । महानगरप्रमुख चिरीबाबु महर्जनले नेपाल सरकारले खोप ल्याउने छाँटकाँट नदेखिएकाले महानगरले नै खोप खरिदका अनुमति मागेको बताए । ‘हामी महानगरवासीलाई रनभुल्लमा राख्न चाहदैनौ, आफ्नै पैसा खर्च गरेर उहाँहरूलाई सुरक्षित राख्न चाहन्छौँ,’ उनले भने । यसअघि महानगरले जेठ १६ गते खोप खरिदको लागि पत्राचार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *