एमाले विवाद मुठभेटतर्फः मन्त्री र प्रदेश सचिवले भने- हातपात भो

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र एमाले प्रदेश कमिटी सचिव राजेन्द्र रावलबीच मन्त्रालयमै हातपात भएको भएको छ । दुबै जनाले एकअर्कोमाथि हातपात गरेको आरोप लगाएका हुन् ।

सचिव रावलले पार्टी केन्द्रको निर्देशन अनुसार मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मतको विपक्षमा मतदान गर्नुपर्ने निर्देशनसहितको पत्र लिएर मन्त्रालयमा गएका बेला मन्त्रीले आफूमाथि हातपात गरेको आरोप लगाएका छन् ।

उनले मन्त्री सोडारी, उनका स्वकीय सचिव र सुरक्षाकर्मीले धक्कामुक्का गरेर बाहिर निकालेको बताएका छन् । आफूमाथि हातपात गरेपछि सचिव रावलले मन्त्रीलाई कारवाही गर्न माग गर्दै मंगलबार प्रहरीमा उजुरी दिने बताएका छन् ।

मन्त्री सोडारीको सचिवालयले भने प्रदेश सचिव रावलले नै मन्त्रीमाथि दुर्व्यहार गरेको दाबी गरेको छ । मन्त्रीका स्वकीय सचिव ललितबहादुर बोहराले विज्ञप्ति जारी गर्दै रावलले कार्यकक्षमै प्रवेश गरेर मन्त्रीमाथि अभद्र व्यवहार गरेको बताएका हुन् ।

‘आर्थिक वर्ष २०७८-७९ को बजेट छलफलमा व्यस्त रहेको अवस्थामा मा. मन्त्रीज्यूको सचिवालय र अंगरक्षकलाईसमेत छलेर मन्त्रीज्यूको कार्यकक्षमा प्रवेश हुने कुरा अशोभनीय छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रदेशसभा सम्बन्धी वा अन्य कुनै विषयमा मा. मन्त्रीज्यूसंग कुरा राख्नुपर्ने भए छलफलको माध्यम हुँदाहुँदै गण्डागर्दी शैली अपनाउनु प्रदेशसभा र प्रदेश सरकारको गरिमाको अपमान भएको महशुस भएको छ ।’

अनाधिकृत व्यक्तिले धम्क्याउने, त्रसित पार्ने जस्ता गैरराजनैतिक क्रियाकलाप नगर्न सम्बन्धित पक्षलाई सचेत हुन पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

सचिव रावल प्रधानमन्त्री ओली निकट हुन् भने सोडारी माधव नेपाल पक्षधर हुन् । यही जेठ १० गते बसेको एमालेको स्थायी कमिटी बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर दुई दिनपछि प्रदेश संसदीय दलले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

समर्थन यथावत राखेसंगै चार मन्त्री र तीन राज्यमन्त्रीसहित सात जना प्रदेश सरकारमा सहभागी भएका छन् । त्यसयता एमाले सुदूरपश्चिममा झन विवाद थपिएको हो । यही बेला मुख्यमन्त्री भट्ट मंगलबार बिहान ९ बजे प्रदेशसभामा विश्वासको मत लिँदैछन् । प्रदेश सरकारमा सहभागी भएको माधव पक्षले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निश्चित जस्तै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *