राजनीतिमा ४ वर्ष : उपमेयरमा ९९ भोट, अहिले मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक पुनःगठन गरेको मन्त्रीपरिषद्मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी रेणुका गुरुङ स्थानीय तहको चुनावमा जम्मा ९९ मत पाएकी नेतृ हुन् । जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट गएको स्थानीय तहको चुनावमा काठमाडौंको टोखा नगरपालिकाको उपमेयरमा उठेकी गुरुङले ९९ मत मात्र पाएकी थिइन् ।

तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट उम्मेदवार बनेकी गुरूङले उपमेयरमा ९९ पाएको निर्वाचन आयोगले जनाएको छ । त्यो चुनावमा एमालेकी ज्ञानमाया डंगोल ८ हजार ९८ मत पाएर विजयी भएकी थिइन् भने कांग्रेसकी रजनी थापाले ८ हजार ३६ मत पाएकी थिइन् ।
गुरुङ राजनीतिमा लागेको पनि बल्ल ४ वर्षमात्रै भएको छ । उनी स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी अध्यक्षका रुपमा राजनीति शुरु गरेकी हुन् । सदस्यता पाएको २ हप्ता पनि नबित्दै उनी टोखाको उपमेयरको उम्मेद्वार बनेकी थिइन् । सुनसरीको रामधुनीकी गुरूङ त्यसअघि शिक्षिका थिइन् । उनले गैरसरकारी संस्था पनि सञ्चालन गर्थिन् ।

उनलाई समाजवादी पार्टीले समानुपातिक तर्फबाट सांसद बनाएको थियो । त्यसबेला समाजवादी पार्टीकी नेतृ रहेकी उनी पार्टी एक भएर जसपा बनेपछि भने ठाकुर–महतो पक्षमा लागेकी थिइन् । त्यसैबापत् उनी राज्यमन्त्री बन्न सफल भएकी हुन् ।

डंगोल ९ हजार भोटसहित एमालेबाट उपमेयर चुनिइन् भने निकटतम प्रतिद्वन्द्वीलेसमेत ८ हजार भन्दा बढी मत प्राप्त गरिन् । गुरुङ जसपा बन्नुअघि संघीय समाजवादी पार्टीलाई फुटाउने ६ जना सांसदमा थिइन् । त्यतिबेला प्रधानमन्त्री ओलीले फोरमलाई फुटाउनका लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि रातारात राष्ट्रिय जनता पार्टी जसपा बनेको थियो । अहिले ठाकुर–महतो पक्ष सरकारमा सहभागी भएपछि जसपा विभाजनको औपचारिकता मात्र पर्खिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *