दलको नेतामा लालबाबु राउतलाई सबैले मान्नुपर्छ- मनिष सुमन

काठमाडौं । महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले संसदीय दलको नेतामा लालबाबु राउतलाई सबैले मान्नुपर्ने बताएका छन् । आइतबार (आज) पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा बसेको प्रदेश नं. २ का सांसदहरुको विशेष बैठकले मुख्यमन्त्रीसमेत रहेका राउतलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

मकालु खबरसँग कुराकानी गर्दै नेता सुमनले भने— ‘मैले त बधाईसमेत दिइसकेँ उहाँ चयन भएपछि । अब उहाँ दलको नेता बनिसक्नुभयो । सबैले मान्नुपर्छ ।’ बैठकबारे भने सांसद सुमनले अनभिज्ञता प्रकट गरे । भने— ‘बैठकमा मलाई खबर भने भएन । सञ्चारमाध्यमबाट थाहा पाएँ । बहुमतले निर्णय गरेको रहेछ । अब सबैले मान्नु परिगो ।’

प्रदेशमा तत्कालीन राजपा र सपा कुनै पनि नभइ जसपा भएको तर्क नेता सुमनको छ । ‘प्रदेशमा न केन्द्रमा अहिले राजपा र सपा कुनै पनि छैन,’ सुमनले भने— ‘जसपा मात्रै छ ।’

ठाकुरपक्षीय ६ सांसद यादव पक्षमा
ठाकुरपक्षीय ६ सांसद नेता राउतको कित्तामा उभिएका छन् । एक नेताले दाबी गर्दै भने— ‘उहाँ (राउत) दलको नेता बनिसक्नुभयो । उतापट्टीका ६ जना साथीहरुले पनि उहाँलाई नै समर्थन गर्नुभएको छ ।’

ती नेताकाअनुसार कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह, रामनरेश राय यादवलगायतका सांसदहरु ठाकुर पक्षलाई छाडेर यादव समूहको सामेल भएका हुन् । ‘त्योभन्दा अगाडि नै महेन्द्र यादव, गजाधर यादव र रमेश यादव यतै हुनुहुन्छ,’ ती नेताले भनेका छन् ।

१०४ सदस्यीय प्रदेश सभामा जसपाका कूल ५५ सांसद छन् । जसमा तत्कालीन सपाका ३० सांसद छन् भने राजपाका २५ सांसद छन् । ६ जना पूर्वराजपाका सांसदहरु यादव पक्षमा आउँदा ठाकुर महताे पक्षमा  १९ जना मात्रै रहने भएका छन् ।

केन्द्रमा ठाकुरपक्षीय जसपा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएको छ । यहीबेला अर्का अध्यक्ष यादवले प्रदेश २ को संसदीय दलको नेतामा राउतलाई चयन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *