विवाद र अपमानमा बितेको ईश्वरको कार्यकाल

काठमाडौं । आफ्नो पुस्तक ‘माघ १९’ मा एमाले महासचिव ईश्वर पोखरेलको स्वीकारोक्ति छ— ‘…सरकारमा जानेहरूमा भरतमोहन अधिकारी र मेराबारेमा अत्यन्त नकारात्मक टिप्पणीहरू हुने गरेको कुराबाट उनी केही दुखित बनेकी थिइन् । मीरा (पत्नी) को आफ्नो पनि दह्रो राय के थियो भने—‘सरकारमा गएर हामीले राम्रा काम गर्न सकेनौँ र अलोकप्रिय निर्णय गर्न पनि केही झैँ मानेनौँ । त्यसकारणले अहिले हामीप्रति असन्तुष्ट र विरोध यसरी देखा परेको हो ।’ उनको जोडै थियो— ‘हामीले विगतमा आफूबाट भएका कामको समीक्षा गर्नुपर्छ । उनको यो गम्भीर टिप्पणीप्रति मैले खास केही प्रतिक्रिया व्यक्त गरिनँ…।’

रक्षामन्त्री अरु कसैलाई नबनाइ प्रधानमन्त्रीले आफैंसँग राख्नु उनी पोखरेलको कार्यक्षमतासँग असन्तुष्ट थिए भन्ने प्रमाण हो ।

पश्चातापमिश्रित उनको यो पङ्ति पढ्दा नेता पोखरेल आफ्नो विगतबारे गम्न र गल्ती स्वीकार्न सक्ने मान्छे हुन् र उनले अब मौका पाए भने त्यस्ता टिकाटिप्पणी गर्नुनपर्ने अवस्था सिर्जना गर्ने छैननु र आलोचकहरुको मुख थुन्नेछन् भन्ने लाग्छ । तर, उनले पछिल्लो सरकारमा पाएका जिम्मेवारीमा आफूलाई अब्बल सावित गर्न सकेनन् । बरु बिबाद र अपमानका बीच नै उनी प्रधानमन्त्री ओलीको ‘निकाला’ मा परे । जेठ २१ गते ४ जना बाहेक एमालेका तर्फबाट बनेका सबै मन्त्रीलाई हटाउने ओलीको निर्णय त उनलाई ‘एक्जिट’को एक बहाना मात्र हो । यसअघि नै उनलाई प्रधानमन्त्री ओलीले अपमानपूर्ण तरिकाले ‘जगेडा’मा राखिदिएका थिए । विभागीय मन्त्रालय खोसिएर बिनामन्त्रालयको उपप्रधानमन्त्री मात्र बन्दा होस् वा सीसीएमसीको संयोजक प्रधानमन्त्री स्वयम् रहने अध्यादेश ल्याएर त्यसको सीईओमा अर्को नियुक्ति गर्दा पनि पोखरेलले पद छोड्ने साहस गरेनन् । लाचार बनिरहे ।

नेता पोखरेलप्रति उनी नजिककाहरुले भन्ने गरेको सुनिन्छ— ‘गर्न खोज्छन्, तर ढङ्ग पुर्याउँदैनन् ।’ झन्डै दुईतिहाइ बहुमतको सरकार गठन हुँदा उनले पाएको रक्षा मन्त्रालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा उनले आफ्नै पुस्तकमा उल्लेख भएको जस्तो ‘छवि सुधार्ने’ प्रयत्न गरेको छनक पाइएन । फलस्वरुपः प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ असोज २८ गते उनलाई रक्षामन्त्रीबाट हटाए । रक्षामन्त्री अरु कसैलाई नबनाइ प्रधानमन्त्रीले आफैंसँग राख्नु उनी पोखरेलको कार्यक्षमतासँग असन्तुष्ट थिए भन्ने प्रमाण हो ।

पाएका अवसरमा अक्षम सावित
प्रधानमन्त्री ओली मृर्गौला प्रत्यारोपणका लागि ‘रेस्ट्’ मा रहँदा पोखरेलकै नेतृत्वमा कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति (सीसीएमसी) गठन भयो । तर, उनले यसमा गतिलो काम गर्न सकेनन् । बरु विवादित भए ।

सीसीएमसीको नेतृत्व पाएका उनी सामग्री ढुवानीमा अनियमितता गरेको आरोपमा मुछिए । ओम्नी समूहलाई मेडिकल सामग्री ल्याउने ठेक्का दिने क्रममा पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको समेत नाम मुछियो । यसबारे संसदीय समितिले छानविन गरी ‘त्रुटि’ भेटिएको निष्कर्ष निकाल्यो ।

दोश्रो लहरका बेला फेरि सीसीएमसीको नेतृत्व गरेका उनले अस्पतालमा अक्सिजन आपूर्ति स्वास्थ्य मन्त्रालयले गर्ने निर्णय गरे । स्वास्थ्य संस्थाहरुले आफ्नै हिसाबले व्यवस्थापन गरिरहेको अक्सिजन सरकारको एकद्वार प्रणालीमार्फत मात्र आपूर्ति हुने निर्णय पछि अस्पतालमा अक्सिजनको आपूर्ति हुन सकेन र धेरै अस्पतालले बिरामी भर्ना गर्न नसक्ने बताए । अवस्था अझ गन्जागोल बन्यो । अक्सिजनकै अभावमा संक्रमितको ज्यानै जाने अवस्था आयो ।

उनले गर्न सकेका भए यो समय उनले आफूलाई नयाँ उचाइमा पुर्याउने र विगतका कलङ्क मेटाउने अवसरका रुपमा उपयोग गर्न सक्थे । तर सकेनन् । उनी अक्षम भएपछि सरकारले प्रधानमन्त्री नै सीसीएमसीको अध्यक्ष हुने गरी अध्यादेश ल्यायो र प्रमुख कार्यकारी अधिकृतको रुपमा बालानन्द शर्मालाई नियुक्त गरियो । यो प्रधानमन्त्री ओलीले उनलाई दिएको असक्षमताको अर्को झड्का थियो । उपप्रधानमन्त्रीबाट पद ‘खोसुवा’मा परेका उनले सीसीएमसीलाई प्रभावकारी रुपमा परिचालन गर्न सक्थे ।

अघिल्लो महाधिवेशनबाट अध्यक्ष ओलीको खेमामा लागेका उनी त्यसअघि नेता माधवकुमार नेपाल नजिक थिए ।

प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपण अघि र पछि स्वास्थ्य लाभ लिँदै गरका बेला उनले आफ्नो बलियो उपस्थिती जनाउने र विपद्का बेला नागरिकको आशा भरोसा जगाउनेबारे कुनै काम गर्न सकेनन् । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा अनियमिततामा मुछिएपछि उनको चर्को आलोचना भयो । विपद्को बेलामा समेत खरिदमा अनियमितता गरिएको भन्दै नागरिकले सामाजिक सञ्जालहरुमा चर्को आलोचना गरे । तर, यसमा भने प्रधानमन्त्री ओलीले चुइँक्क बोलेनन्, पोखरेललाई आडभरोसा दिइरहे । पोखरेलले पनि आफ्नो बचाऊ गर्न कहिल्यै छाडेनन् ।
यस्तै, रक्षा मन्त्री हुँदा कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी नियन्त्रणमा लिइसकिएको र चाँडै सार्वजनिक गर्ने दाबी गरे तर, त्यसको लामो समयसम्म रक्षा मन्त्री नै भइरहँदा पनि त्यो काम उनले गर्न सकेनन् । उपप्रधानमन्त्री पोखरेल गोकर्ण रिसोर्टको जग्गा, आफ्ना सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन खोजेको जस्ता धेरै विषयमा तानिए ।

विवादस्पद विगत
त्यसो त नेता पोखरेलको सरकारको यात्रा नै विवादित रुपमा शुरु भएको हो । पहिलोपटक ०६१ सालमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै पोखरेल विवादमा तानिएका थिए । कलकत्ताका लागि महावाणिज्यदूत नियुक्ति, पेट्रोलियम पदार्थको मुल्यबृद्धिलगायतका विषयमा अनियमितता गरेको भन्दै नागरिक तहबाट चर्को आलोचना सहेका पोखरेलले त्यसको खण्डन भने गर्दै आएका छन् ।

त्यसपछि उनी जति उच्च ओहोदामा आए, त्यति त्यति विवादमा तानिँदै आए । यसको जगजाहेर उदाहरण पछिल्लो सरकार नै हो ।

अब कस्तो भूमिका निर्वाह गर्लान्
एमालेको निर्वाचित महासचिव रहेका उनी एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि भने छायाँमा परे । दुई अध्यक्षहरु ओली—पुष्पकमल दाहाल ‘प्रचण्ड’ विष्णु पौडेललाई महासचिव बनाउन तयार भए । छायाँमा परेका पोखरेल पार्टीमा बलियै गुट सञ्चालन गर्ने नेताका रुपमा चिनिन्छन् ।

उनमा दलगत विचलन अरु नेताभन्दा कम रहेको एमालेका नेताहरु बताउँछन् । तर अघिल्लो महाधिवेशनबाट अध्यक्ष ओलीको खेमामा लागेका उनी त्यसअघि नेता माधवकुमार नेपाल नजिक थिए । काम गर्ने ढाँचा नभएको हो वा विगतको दाग पखाल्न नचाहेका हुन् त्यो त उनैले जान्ने कुरा भयो । पछिल्लो पटक ‘पार्टीमा खटाउनका लागि’ भनेर मन्त्रीपरिषद्बाट हटाइएका पोखरेलले पार्टीमा अब कस्तो भूमिका निर्वाह गर्ने हुन् अनि स्याब्बासी पाउने हुन् वा आलोचना नै ब्यहोर्नुपर्ने हुन्, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *