बालुवाटारमा नेपाल–खनालविहीन एमालेको कल्पना

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्ष हिजोआज, ‘पार्टी एकताका लागि हदैसम्मको प्रयास गर्ने’ भन्न थालेको छ । तर यो भनेको के हो भन्ने चाहिँ बुझाउन सकेको छैन । संस्थापन पक्षका नेताहरु पनि यो ‘हदैसम्मको लचकता’ के हो भन्ने बताउँदैनन् ।

यसलाई स्पष्टीकरण सोधिएकालाई कारबाही नगर्ने र गरिएकामध्ये केहीको कारबाही फिर्ता लिने योजना हो कि भन्ने अर्थमा बुझ्ने गरिएको छ ।
उसो त एमालेको झलनाथ खनाल—माधवकुमार नेपाल पक्षले पनि पार्टी सग्लै राख्न आफूहरुले कुनै कसर बाँकी नराखेको बताउने गरेकै छ ।
तर व्यवहारमा भने दुवै पक्षका नेताहरुले ‘अब सँगै हिँड्न सम्भव नभएको’ भन्ने सन्देश दिँदै आएका छन् । यो कुरा स्वयम् उनीहरुले नै बताउँदै पनि आएका छन् । भलै दुवै पक्षका नेताहरु ‘पार्टी फुट्न नदिन’ बेलाबेला बैठक भने गरिरहेका छन् । तर दोश्रो र तेश्रो तहका नेताहरु यो प्रयास केवल ‘हामीले पार्टी जोगाउनका लागि भगीरथ प्रयत्न गरेकै हौं नि’ भन्नलाई मात्र गरिरहेका छन् वा उनीहरु पार्टी एक नै होस् भन्ने चाहन्छन् भन्ने मेसो पाउन भने मुश्किल छ ।

समानान्तर कमिटीमार्फत राजनीतिक गतिविधि गर्दै अगाडि बढिरहेको एमालेभित्रका दुई पक्ष आफूलाई पार्टी विभाजनको दोष नलागोस् भनेर मात्रै पो यो सब गरिरहेका छन् कि भन्ने शंका बलियो बनेको छ । एमालेको खनाल—नेपाल पक्षले पार्टी कमिटी ०७५ जेठ २ कै अवस्थामा पुग्नुपर्ने बताइरहेको छ । तर, अध्यक्ष केपी शर्मा ओली भने आफू त्यो अवस्थामा नफर्किने र दुवैको अडानबाट केही अगाडि सरेर सहमति गर्नुपर्नेमा दृढ छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले गत वर्षको फागुन २८ गते पूर्वमाओवादी पृष्ठभूमि भएका २३ जना नेतालाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् । प्रधानमन्त्री ओली ती नेताहरुलाई बिदा गर्ने मनस्थितिमा छैनन् ।

पछिल्लो समय स्पष्टीकरण र कारबाहीको शृङ्खला थालेको एमालेको संस्थापन पक्षले पछिल्ला दिनमा स्थायी समिति बैठक डाक्दै र स्थगित गर्दै गरिरहेको छ । ‘लचकता अपनाएरै भएपनि पार्टी एकतालाई कायम राख्ने भन्ने निष्कर्ष निकालेका छौँ,’ ओलीनिकट एक नेताले मकालु खबरसँग भने—‘त्यही भएरै पनि हामीले पार्टी मर्यादाविपरीत चल्नुभएका केही कमरेडहरुलाई कारबाही गरेका छैनौँ ।’

हामीले पार्टी मर्यादाविपरीत चल्नुभएका केही कमरेडहरुलाई कारबाही गरेका छैनौँ ।

 

उसो त अध्यक्ष ओली कारबाही रोकेर केही ब्याक भएको आकलन पनि गरिएको छ । तर उनी निकट तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ग भने ओली ‘ब्याक’ वा ‘फरवार्ड’ केही नभएको बताउँछन् । ओलीले एकताका लागि ढोका खुलै राखेको नेता नेम्वाङ्गको भनाइ छ । भन्छन्— ‘अध्यक्षज्यूले सधैं एकता नै गरौँ भनेर भन्दै आउनुभएको छ । लचकता अपनाउँदै नै पनि आउनुभएको छ । पार्टी एकता कायम रहन्छ भने अझै लचकता अपनाउने भन्नेमा उहाँ अडिग हुनुहुन्छ ।’

ओलीलाई उद्धृत गर्दै उनीनिकट अर्का नेताले भने— ‘हदैसम्मको प्रयास गरौँ । हाम्रो तर्फबाट केही लचकता अपनाएरै भएपनि एकतालाई कायम राख्ने कोसिस गरौँ ।’ उनकाअनुसार यदि विपक्षी पक्षका नेतृत्वकर्ता माधवकुमार नेपाल नमाने उनीबाहेकका अन्य नेताहरुलाई मात्र भएपनि एकताबद्ध गर्ने प्रयास भइरहेको छ । ‘अन्तिमसम्म पनि एकताका लागि लचिलो हुने भन्ने छ, तर अब एकता भए पनि माधवकुमार नेपालसमेत केही नेताहरु चाहिँ आउने सम्भावना देखिँदैन । हाम्रो तर्फको निष्कर्ष लगभग उहाँहरुबाहेकको एमाले होकि भन्ने छ ।’

तर पार्टी एकताको प्रयास र त्यो कुराबीच कहीँ कतै पनि तालमेल मिल्दैन । कोसिस जारी त रहन्छ नै ।

त्यसो त पार्टी एकतालाई कायम राख्ने प्रयासस्वरुप दुवै तर्फका दोस्रो तहका नेताहरु पनि केही सक्रिय भएका छन् । सत्तासिन एमालेका तर्फबाट सक्रिय नेता नेम्वाङ्गले एकता कायम गर्न सघन वार्ता भइरहेको बताउँछन् । ‘उतापट्टीका साथीहरुसँग लगातार सम्वाद अगाडि बढाएका छौँ,’ उनले भनेका छन्— ‘सहमति जुर्छ नै भन्ने भन्द पनि कोसिस नै जारी छ ।’ ओली—नेपालबीच वार्ता भएपछि यसअघि पनि १० सदस्यीय कार्यदल बनेको थियो । उक्त कार्यदलले काम शुरु नै नगरी निस्क्रिय भयो, खासगरी ओलीले संसद् विघटन गरेयता उक्त कार्यदल एकठाउँमा बस्नसमेत सकेको छैन ।

यअसघि पटक–पटक स्थगित भएर मंगलबार बसेको स्थायी कमिटी बैठकमा पनि नेपालबाहेकका नेताहरुबीच एकतामै बल गर्नुपर्नेमा नेताहरुको जोड रहेको थियो । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मकालु खबरसँग भने—‘विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टीको उम्मेदवारलाई हराउने कुरालाई गर्वका साथ केही साथीहरुले महिमा मण्डन गरिरहनुभएको छ । ती साथीहरु फर्किनुभयो भने राम्रै हो, तर पार्टी एकताको प्रयास र त्यो कुराबीच कहीँ कतै पनि तालमेल मिल्दैन । कोसिस जारी त रहन्छ नै ।’

नेता ज्ञवालीले गत ८ गते बसेको एमाले स्थायी कमिटी बैठकले कारबाही गरका नेताहरु भने पुनः एमालेमा फर्किने सम्भावना कम रहेको स्वीकारेका छन् । उनले भने— ‘उहाँहरु आउनुहुन्न नै भन्ने त छैन । तर, सम्भावना अलिक कम होकि भन्ने चाहिँ लागेको छ । तर, त्यसपछि भने पार्टीले कसैलाई कारबाही गरेको छैन । यो एकता कायम रहोस् भनेरै गरिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *