एमाले विवाद

न फुट्ने न मिल्ने, किन दोसाँधमा छ एमाले ?

काठमाडौं । देशको बागडोर सम्हालिरहेको नेपाल कम्युनिष्ट पार्टी एमालेको पछिल्लो समय स्पष्टीकरण, कारबाही, निष्काशन, आरोप—प्रत्यारोपबाट गुज्रिरहेको छ । सग्लो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदादेखि नै ‘फाटो’ देखिएको एमालेबाट पूर्व माओवादी केन्द्र अलग भएपछि पनि एमाले एक हुन सकेको छैन ।

खासगरी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले इतरपक्षको मागमा ध्यान नदिँदा एमाले एकता कायम रहने सम्भावना टुट्दै गएको देखिन्छ । भलै असन्तुष्ट पक्ष र उसका क्रियाकलापहरु यसका लागि निर्दोष भने छैनन् ।

अध्यक्षज्यूले आफैंले अग्रसरता लिएरै भएपनि एमाले एकता कायम राख्ने बचनबद्धता गर्नुभएको छ ।

आफ्नो अडानबाट मरेकाटे पछि नहट्ने दुवै पक्षको जिद्दीपनाका कारण एमाले अब एक रहन लगभग असम्भव रहेको नेताहरुको बुझाइ छ ।
पछिल्लो एक/दुई दिनयता अध्यक्ष ओली केही लचिलो बनेको जस्तो देखिएको छ । पार्टीलाई एक बनाएरै अगाडि बढ्ने ओलीले बचनबद्धतासमेत गरिसकेको एमाले सचेतक विशाल भट्टराईले बताए ।

‘अध्यक्षज्यूले जसरी हुन्छ त्यसरी नै एमालेलाई एकढिक्का बनाउनैपर्छ भनेर भन्नुभएको छ,’ सचेत भट्टराईले मकालु खबरसँग भने— ‘अहिले पनि लगातार त्यो प्रयास जारी छ ।’

विपक्षी एमाले आफ्नै अडानबाट नडगमगाउने भएपछि अध्यक्ष ओलीले नै एमाले एकता कायम राख्न अग्रसरता देखाएको उनीनिकट अर्का नेता बताउँछन् । मकालु खबरसँग ती नेताले भने— ‘अध्यक्षज्यूले आफैंले अग्रसरता लिएरै भएपनि एमाले एकता कायम राख्ने बचनबद्धता गर्नुभएको छ । सोहीअनुसार पछिल्लो समय पार्टी कमिटीका बैठकहरुसमेत लगातार बस्न सकिरहेको छैन । अब आजै मात्रै पनि स्थायी कमिटी बैठक सर्यो । कारण त्यही नै हो । आन्तरिक तीव्र तयारी भइरहेको छ ।’

लेखेर राख्नुस्, माधव कामरेड र भीम कामरेडबाहेकका नेताहरु सबै एमालेमै फर्किनुहुन्छ ।

कस्तो तयारी भन्ने सन्दर्भमा ती नेता भन्छन्— ‘समग्रमा एमाले एक हुने उत्तम प्रयास भनेर बुझौँ न अहिलेलाई । यसको बारेमा थाहा पाइहालिन्छ नि ।’ त्यसो त अचेल खासगरी सत्तारुढ एमालेका नेताहरुले एकता कायम राख्न ‘हदैसम्म प्रयास गरिरहेका छौँ’ भनेर भनिरहेका छन् । जुन विषयमा उनीहरु स्वयम्ले थप केही भन्न मान्दैनन् । यता एमालेकेन्द्रित राजनीतिक समस्या समाधान गर्नेगरी सत्तारुढ एमालेबाट गठित वार्ता टोलीका संयोजक सुवासचन्द्र नेम्वाङ्गले पनि एमाले एक हुनै नै बताउँछन् । ‘एमाले एक हुन्छ, ढिलोचाँडो आफ्नो ठाउँमा छ । तर, अहिलेलाई यत्ति भनौँ एमाले एकता कायम रहन्छ रहन्छ,’ नेम्वाङ्गले मकालु खबरसँग भनेका छन् ।

उसोभए पार्टी जेठ २ मा फर्किन्छ त ? भन्ने प्रश्नमा नेम्वाङ्ग भन्छन्— ‘अध्यक्षज्यू र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि कुराकानी भइरहेको छ भन्ने बुझेको छु । यीनै यावत् विषयवस्तुहरुमा कुराकानी भइरहेको होला । हामी दोस्रो तहका नेताहरुबीच पनि यही विषयमा तीव्र कुराकानी भइरहेको छ । मलाई जहाँसम्म लाग्छ कुरा मिल्छ ।’

नेपाल—रावलबाहेक सबै फर्किन्छन्
ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलबाहेक सबै नेताहरु एमालेमै फर्किने निष्कर्ष निकालेको छ । ओली निकट एक नेताले भने— ‘लेखेर राख्नुस्, माधव कामरेड र भीम कामरेडबाहेकका नेताहरु सबै एमालेमै फर्किनुहुन्छ । त्यो अवैधानिक पार्टीमा कति बस्नु के गरेर बस्नु ?

एमाले नेता वामदेव गौतमको दृष्टान्त सुनाउँदै ती नेताले भने— ‘आज वामदेव गौतमलाई हेर्नुस् त उहाँ पनि त कति वर्षपछि एमालेमा आउनुभयो, उहाँ आज कहाँ पुग्नुभयो ? वामदेवको इतिहास हेरेरै भएपनि माधवकुमार नेपाल र भीम रावलबोहकका नेताहरु फर्किनुहुन्छ ।’ यद्यपि आफूहरु सबै नेताहरुलाई समेट्नेगरी लागिरहेको ती नेताको भनाइ छ । उनी भन्छन्— ‘सके त सबैजनालाई नै पार्टीमा फर्काएर अगाडि जाऔं भन्ने नै हो । यदि उहाँहरु दुई नेताहरु फर्किनुभएन नै भएपनि अन्य साथीहरु चाहिँ फर्किनुहुन्छ ।’

चाहेर पनि किन मिल्दैन त एमाले ?
दुवै तर्फका नेताहरुले एमाले एकता भाँड्ने मनसाय नभएको प्रष्टोक्ति दिँदै आएका छन् । तर, त्यति हुँदा पनि एमाले एक हुने सम्भावना भने टर्दै गएको आमअनुभूति हुन्छ । चाहेर पनि किन मिल्न सक्नुहुन्न भन्ने प्रश्नमा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मकालु खबरसँग भने— ‘मिलौँ मिलौँ मिलौँ मात्रै भनियो । कसरी मिल्ने भन्ने कुराको निर्क्यौल चाहिँ भएन । यसले समस्यामा पार्यो । उतापट्टीका साथीहरुले के गर्दै हुनुहुन्छ थाहा छैन । हामीले चाहिँ मिलेरै जाने भनेर अन्तिमसम्म पनि प्रयासरत रहने भनेका छौँ । त्योअनुरुप गर्दै पनि छौँ ।’

त्यसो त विपक्षी एमाले पनि आफू मिलेरै जान चाहेको बताउँछ । नेता रघुजी पन्त भन्छन्— ‘हामीले खाली ०७५ जेठ २ को अवस्थामा पार्टी पुगोस् । अब पहिलेकोजस्तै एमाले भयो भनेपछि त कमिटी फर्मेसन पनि उस्तै हुनुपरिहाल्यो नि । सर्वोच्चले नेकपा खारेज गरेपछि त एमाले त पहिलेकैजस्तै एमाले हुनुपर्यो नि ? हामीले भन्दै आएका छौँ कि हाम्रो सहमति विन्दु त्यो नै हो । यति भयो भने हामी सहज मानेर पार्टी एकतालाई कायम राख्ने दिशामा जान्छौँ ।’

दुवै पक्ष मिल्न तयार रहेको बताइरहे पनि कसरी मिल्ने भन्ने खाकाका बारेमा सहमति बन्न नसक्दा एमाले मिल्ने न फुट्नेको दोसाँधमा रहेको छ । पछिल्लो समय ओली केही लचिलो भएपनि फर्किएर गएपछि फेरि आफूहरुलाई पेलेरै जाने खतरा रहेको नेपाल—खनाल पक्षको बुझाइ छ । पटक पटक ललिचो बनेजस्तो गर्ने र खतरा टारेपछि फेरि पेल्ने ओलीको रणनीतिबाट आफूहरु आजित भएको नेपाल—खनाल पक्षका नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *