‘मध्यावधि निर्वाचनको बन्दुक उल्टो पड्कन सक्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले मध्यावधि निर्वाचनको बन्दुक प्रधानमन्त्री केपी ओलीका लागि उल्टो पड्कन सक्ने चेतावनी दिएका छन् । समसामयिक विषयमा पार्टीकाे धारणा स्पष्ट पार्दै महामन्त्री सिंहले यस्तो चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले चुनावबाट दुइतिहाई मत प्राप्त गर्ने आशा गरेका भएपनि उनकै लागि चुनाव आत्मघाती हुनसक्ने सिंहले बुझाई छ । ‘मुलुक कोरोनाका कारण गम्भीर रुपले आक्रान्त छ । आर्थिक दृष्टिकोणले जर्जर भएको अवस्थामा छ,’ उनले भने, ‘ यस्तो बेला जवर्जस्ती मध्यावधि चुनाव लाद्ने प्रधानमन्त्रीको प्रयत्न आपत्तिजनक छ ।’
राष्ट्रिय सभाको बागमती र लुम्बिनीको परिणामले मध्यावधि चुनावको बन्दुक ओलीका लागि उल्टो पड्कन सक्ने देखिएको उनले दाबी गरे । महामन्त्री सिंहले प्रतिनिधि सभा रहन्छ कि रहन्न भन्ने प्रश्न भन्दा पनि देशमा साम्राज्यवादी र प्रतिगामी शक्तिहरुको चलखेल बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री ओलीका ‘प्रतिगामी कदम’ विरुद्ध एकजुट हुन पनि राजनीतिक दलहरुलाई आह्वानसमेत गरे ।
ओली सरकारले प्रस्तुत गरेको बजेटमा ढुंगा, गिट्टी र बालुवालाई भारतमा निर्यातको लागि स्वीकृति दिने निर्णयलाई अत्यन्त गम्भीर र आपत्तिजनक रूपमा लिएको मसालले जनाएको छ । त्यो निर्णय नेपालको पर्यावरणका विरुद्ध हुनुका साथै भारतपरस्त चरित्रको परिणाम भएको उसको ठहर छ ।









