ठाकुर–महतोको सकस

पार्टी एकता कायम राख्ने कि सरकारमा जाने ?

काठमाडौं । करिब १३ महिनाअगाडि हतार—हतार एकतामा बाँधिएका समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) साबिककै अवस्थामा पुग्ने सम्भावना बढेको छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने कि नदिने भन्नेबारे कुरा नमिल्दा फुटको सन्निकट पुगेको जनता समाजवादी पार्टी (जसपा) को अब फुटको औपचारिक घोषणा हुन मात्रै बाँकी छ ।

महन्थ ठाकुर—राजेन्द्र महतोपक्षीय जसपाले ओली नेतृत्वको सरकारमै सामेल हुने बताएयता यो सम्भावना झनै बढेर गएको हो । त्यसो त यता डा. बाबुराम भट्टराई—उपेन्द्र यादवपक्षीय जसपा कुनै पनि हालतमा ओली नेतृत्वको सरकारमा जाने पक्षमा छैन । आफूले राखेको अधिकांश माग पूरा भएपछि सरकारमा जाने बताएको ठाकुर—महतोपक्षीय जसपाले अब चाँडै सरकारमा जाने बताइसकेको छ । नेता लक्ष्मणलाल कर्णले मकालु खबरसँग भने— ‘अब जसपा चाँडै सरकारमा जान्छ । ठ्याक्कै साइत मात्रै नजुरेको हो । सबै मिलिसक्यो ।’

यसअघि पनि आपसमा स्पष्टीकरण सोधासोध गरेका दुई फ्याक भएका जसपाले मंगलबार (हिजो) मात्रै पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरागर गरेका छन् ।

केपी ओली नेतृत्वको सरकारमा कोही पनि जाँदैन र कोही गए पार्टीले कारबाही गर्छ ।

‘कारबाहीको कुनै अर्थ राख्दैन,’ नेता कर्णले भने— ‘यो खाली दङ्ग्याउने काम हुँदैछ पार्टीमा । यद्यपि पनि हामी त अझै पार्टी एकता कायम रहोस् नै भन्ने चाहन्छौँ ।’ उसोभएर तपाईंहरुको तर्फबाट कारबाही किन भयो ? भन्ने पश्नमा कर्णको जवाफ छ— ‘कहिलेकाहीँ यस्तै हुन्छ । यसमा चाहिँ यो प्रक्रिया अगाडि कसले अघि बढायो भन्नेमा हुन्छ । उहाँ (भट्टराई—यादव) ले नै पहिले कारबाही गर्नुभयो, त्यसपछि त हेरेर त बस्ने कुरै भएन । तर, अझै पनि केही भएकै छैन । हामी चाहन्छौँ पार्टी एकता कायम रहोस् ।’

दुई फ्याक जसपाको अडान र कारबाही हेर्दा अब जसपाको एकता यहीँ टुङ्गिन्छ भनेर भन्न ठूलो आपत्तिको विषय नरहला । तर, नेता कर्णको भने पार्टी एकतालाई कायम राखेरै सरकारमा जाने जिकिर गरेका छन् । भने— ‘हामी जतिसक्दो पार्टी एकतालाई कायम राखेरै सरकारमा जानेछौँ । पार्टी जोगाएर सरकारमा जाने हाम्रो पहिलो प्रयास हो । यही प्रयासस्वरुप हामी अहिलेसम्म अडिएका पनि हौँ ।’ आफूहरुले त्यसैगरी तयारी गरिरहेको पनि नेता कर्णको भनाइ छ । यद्यपि यता भट्टराई—यादवपक्षीय जसपाले भने ओली नेतृत्वको सरकारमा कुनै गुट वा कुनै नेता गए कारबाहीको भागीदार बन्नुपर्ने चेतावनी दिएको छ । नेता मोहम्मद ईस्तियाक राईले मकालु खबरसँग भने— ‘केपी ओली नेतृत्वको सरकारमा कोही पनि जाँदैन र कोही गए पार्टीले कारबाही गर्छ ।’

ठाकुर—महतोनिकट एक नेताले भने पार्टी फुटाएरकै भएपनि सरकारमा जाने दाबी गरे । उनले भने— ‘अन्ततः अब पार्टी फुटाएरै भएपनि सरकारमा जानैपर्ने हुन्छ । केन्द्रीय कमिटी र कार्यकारिणी दुवैतिर ४० पतिशत पुर्याउने र पार्टी फुटाएरै भएपनि आफूहरु सरकारमा जाने रणनीतिमा मन्त्रीको आकांक्षीसमेत रहेका ती नेताले मकालु खबरसँग भनेका छन् । ‘हामी अहिलेसम्म ब्याक हुनुको कारण नै दुवैतिर ४० प्रतिशत पुर्याउँ भन्ने नै हो,’ ती नेताले भनेका छन् । यथास्थितिमा कार्यकारिणीमा भट्टराई—यादवको बहुमत छ भने केन्द्रीय कमिटीमा ठाकुर—महतोको बहुमत छ ।

यता प्रधानमन्त्री ओली पनि ठाकुर—महतोपक्षीय जसपालाई जसरी पनि सरकारमा सामेल गराउने मनस्थितिमा छन् । त्यसकै पयासस्वरुप प्रधानमन्त्री ओली र ठाकुर—महतोबीच लगातार वार्ता भइरहेको छ । एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङ्गकाअनुसार जसपा सरकारमा आउने सहमति भइसकेको छ । उनले मकालु खबरसँग भने— ‘उहाँहरु आउने कुरा त हो नि त । सहमति भइसकेको छ । उहाँहरु अब आउन मात्रै बाँकी हो । कहिले आउनुहुन्छ त्यो उहाँहरुको कुरा हो । लाग्छ उहाँहरु अब चाँडै आउनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले ठाकुर—महतो पक्षलाई सरकारलाई सामेल गराउनेगरी मधेश आन्दोलनका १२० जनालाई रिहा, नागरिकतासम्बन्धी अध्यादेश जारी, संविधान संशोधनका लागि कार्यदल, रेशम चौधरीलगायतका नेता रिहा गर्नका लागि ६ बुँदे सहमतिलगायतका कदम अगाडि सारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *