एमाले स्थायी कमिटी बैठक बस्दै, ‘एकता कायम राख्न’ के गर्ला निर्णय

काठमाडौं । एमाले स्थायी कमिटी बैठक आज पनि बस्दैछ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गकाअनुसार बैठक बुधबार (आज) अपराह्न ४ बजे बालुवाटारमा बस्दैछ । नेम्वाङ्गकाअनुसार बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलबारे समीक्षासँगै अब एकतालाई कायम राख्नेगरी कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुनेछ ।

पार्टीलाई एक बनाउने प्रयासस्वरुप विपक्षी एमाले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतका केही नेताबाहेकका दोस्रो पुस्ताका नेताहरुसँग आफूहरुले लगातार छलफल गरिरहेको नेम्वाङ्गले बताए । भने— ‘पार्टीलाई एक बनाऔं भनेरै हामीले प्रयास गर्दैछौँ ।’

आज बस्ने स्थायी कमिटीको बैठकले केही लचिलो निर्णय गर्न सक्नेछ । दुई फ्याक एमालेबीच एकताका लागि लगातार सम्वाद तथा छलफल भइरहेको अवस्थामा आजको बैठक केही लचिलो बन्न सक्नेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेताले मकालु खबरसँग भने— ‘१२ जना नेतालाई कारबाही गर्नबाट समेत हामी पछाडि फर्क्यौँ । यो चाहिँ पार्टी एक होस् भनेरै नै हो । हामी प्रयासरत छौँ ।’

ती नेताकाअनुसार अध्यक्ष ओली पार्टी एकताकै पक्षमा पुगेका छन् । ‘हामीहरु नै अलिक लचिलो भएरै भएपनि पार्टी एकतालाई कायम राखौँ,’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै ती नेताले भनेका छन् ।

यसअघि मंगलबारको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने र अर्को पक्षले अनुशासनहीन गतिविधि जारी राखे पनि एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *