उद्यमी घिमिरेबाट करोड रुपैयाँ राशीको पुरस्कार

काठमाडौं । प्रतिष्ठित उद्यमी सुहृद घिमिरेले कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर खटेका स्वास्थ्यकर्मीको सम्मानका लागि एक करोड एक रुपैयाँ राशीको पुरस्कार घोषणा गरेका छन् ।

उनले बारबरा फाउन्डेसनमार्फत प्रदान गर्ने गरी उक्त पुरस्कार राशी घोषणा गरेको फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले जानकारी दिएका छन् ।

नेपालका लागि किया गाडीको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका अध्यक्ष घिमिरे बारबरा फाउन्डेसनका कार्यकारिणी सदस्य हुन् ।

घिमिरे र उनकी सुपुत्री अदितीले व्यक्तिगत तथा पारिवारिक जीवन त्यागेर अहोरात्र मानवीय सेवामा खट्ने स्वास्थ्यकर्मीको मानवताप्रतिको समर्पण भावको सम्मानका लागि पुरस्कार राशी प्रदान गर्न लागेको डा. रुइतले जनाएका छन् ।

बारबरा फाउन्डेसनले गत वर्ष पनि समाजका विभिन्न क्षेत्रमा कार्यरत अग्रपंक्तिमा खटिएका व्यक्तिलाई विशेष सम्मान गरेको स्मरण गर्दै अध्यक्ष डा. रुइतले यस वर्ष स्वास्थ्यकर्मी वा संस्थालाई सम्मान गर्न लागेको जानकारी गराएका छन् ।

फाउन्डेसनले हामी नेपाल समूहका संकटका सारथी युवासँग मिलेर निरन्तर काम गरिरहेको पनि जानकारी गराएका छन् ।

फाउन्डेसनले पुरस्कृत गर्ने अग्रपंक्तिका स्वास्थ्यकर्मी वा संस्था छनोट गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाको अध्यक्षतामा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा लोचन कार्कीलगायत रहेको एक निर्णायक समिति गठन गरेको छ ।

समितिले देशका सरकारी, सामुदायिक वा गैरनाफामूलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मीमध्येबाट ५० देखि १०० जनासम्म छनोट गर्ने र उनीहरुलाई दामासाहीले पुरस्कार राशी प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =