म अर्थात् डिल्युजन ग्रान्ड्युअर [कविता]

ऊ र म
ऊ उसको परिचय हराउँदो छ
म मेरो परिचय बनाउँदो छु
ऊ रैती रैयात दुनियाँ र भुँईमान्छे बन्दो छ
म धरहरा र सगरमाथाको उचाइ लिँदो छु ॥

हो म भुँई धरा र लोकभन्दा माथि छु,
म रजाइँ र कजाइँको उपरमा छु,
म विधान, प्रविधानभन्दा वजनदार छु,
र सोत्तर लगाइदिएको छु विधिविधानलाई ॥

ऊ सडकमा हिँड्छ,
म गाडी, रेल र जहाजमा सयर गर्छु,
म अग्लो छु र ऊ पुड्को छ ॥
ऊ बलैले ओतसम्म लाग्छ
म महानिवास गर्छु हिरण्याक्ष र हिरण्यकशिपुमा ।

हो ऊ र म
भन्नलाई सार्वभौम हौँ भन्छौँ सँगै
तर ऊ मसिर्जित एक भ्रम हो
म मात्र सार्वभौम हुँ किनभने
म कानुनको भरेङबाट माथि आएपछि त्यही कानुनको भरेङ लत्याउने हिम्मत राख्छु ।
म सर्वथा सर्वशक्तिमान- म अर्थात् डिल्युजन ग्रान्ड्युअर ॥

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *