पत्रपत्रिका

बजेट २०७८ : तल्ला तहका प्रहरी खुसी

काठमाडाैँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । न्यून तलब भत्ताबाट रासन पानीमा समस्या हुँदै आएको पटक-पटकको गुनासो प्रहरीबाट आएपछि सरकारले रासन भत्ता वृद्धि गर्ने निर्णय गरेको हो ।

यतिबेला कोरोना महामारीका लागि अग्रपंक्तिमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्ला तहका कर्मचारी रासन भत्तामा भएको वृद्धिसँग खुसी छन् । सरकारले पाँच वर्षमा उनीहरूले पाउँदै आएको रासन भत्ताको रकम वृद्धि गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशतले वृद्धि गरेको घोषणा गरेका हुन् ।

प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता विगत पाँच वर्षदेखि बढ्न सकेको थिएन भने गृह मन्त्रालयले दुवै प्रहरीतर्फबाट आएका गुनासा सुनेर ५० प्रतिशत वृद्धि गर्न प्रस्ताव गरेको थियो । त्यसबखत गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले यस्तो प्रस्ताव अघि बढाएका थिए । तर, अर्थ मन्त्रालयले बजेट अभाव भएको र राज्यलाई आर्थिक भार पर्ने भन्दै यसअघि प्रस्ताव स्वीकृत गरेको थिएन ।

तर, योपटक अर्थमन्त्री पौडेलले २०७२ माघदेखि बढ्न नसकेको सुरक्षाकर्मीको रासन भत्ता बढाउने निर्णय गरेपछि दुवै प्रहरी संगठनले यसलाई सकारात्मक रूपमा लिएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विकटता अनुसार प्रहरीले पाउँदै आएको रासन भत्ताको दर पनि फरक भएको जानकारी दिए ।

उनका अनुसार हाल प्रहरीले जिल्लाको विकटताको अवस्था हेरेर ३५ सयदेखि १५ हजार रुपैयाँसम्म रासन भत्ता पाउँदै आइरहेका छन् । प्रहरी प्रवक्ता कुँवरका अनुसार हुम्ला, जुम्लाजस्ता जिल्लामा रासन भत्ताबापत प्रहरीले १० हजारको हाराहारीमा रकम पाउने गरेका छन् । काठमाडौंमा भने भत्ता रकम ४ देखि ५ हजारको बीचमा छ ।

सुरक्षाकर्मीहरूले प्राप्त गर्ने सो रकम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने रासत भत्ता दररेट निर्धारण समितिले मूल्यांकन गरेर तोक्ने गरेको छ ।

यसैगरी, सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट (बीओपी) को संख्या पनि थप गर्ने निर्णय गरेको छ । सीमा सुरक्षाका लागि आगामी वर्षभित्र सशस्त्रका १ सय २० वटा बीओपी थप गरिने अर्थमन्त्री पौडेलले बताएका हुन् । –राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *