स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई राजनीतिक संरक्षण नदिन विवेकशील साझाको माग

काठमाडौं । विवेकशील साझा पार्टीले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण गर्ने आक्रमणकारीलाई राजनीतिक संरक्षण नदिई कानुनी कारबाही गर्न माग गरेको छ ।

बिहीबार भेरी अस्पतालमा भएको आक्रमणप्रति खेद प्रकट गर्दै विवेकशील साझाले आक्रमणमा सत्तारूढ दल नेकपा एमालेका प्रदेश तहका नेताको संलग्नता रहेको खबरहरू सार्वजनिक भइरहेकाले आक्रमणकारीलाई राजनीतिक संरक्षण नदिनसमेत माग गरेको छ ।

‘आक्रमणमा सत्तारूढ एमालेका प्रदेश तहका नेताको संलग्नता रहेको भनी खबरहरू सार्वजनिक भएका छन् । समाजमा परिचित गुण्डालाई मन्त्री बनाएर पुरस्कृत गर्ने नेता भएको देशमा दलका नेताहरू पनि गुण्डागर्दीमा संलग्न हुनु अस्वाभाविक होइन,’ शुक्रबार पार्टीका प्रवक्ता शरदराज पाठकले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर पनि आक्रमणकारीहरूलाई राजनीतिक संरक्षण नदिई कानुनी कारबाही गर्न तथा भेरी अस्पतालसहित देशभरका स्वास्थ्यकर्मीले निर्धक्क भई काम गर्ने वातावरण सुनिश्चित गर्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ ।’

राज्यको स्वास्थ्य प्रणाली फितलो रहँदा र सरकारको अकर्मण्यताले गर्दा मुलुकभर स्वास्थ्यकर्मीहरू यस्तो महामारीको समयमा अत्यन्त सीमित स्रोत, साधन र जनशक्तिका साथ अहोरात्र खटिनु परिरहेको अवस्थामा यस्तो घटना घट्नु निन्दनीय भएको विवेकशील साझाले जनाएको छ ।

‘आफू स्वयं र परिवार कुनै पनि बेला सङ्क्रमित हुनसक्ने जोखिम बोकेर तथा कतिपय स्थानमा आफू सङ्क्रमित भइकन पनि सुरक्षा मापदण्ड अपनाई अन्य सङ्क्रमितको उपचारमा सक्रिय स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गर्नु पर्नेमा उल्टै साङ्घातिक आक्रमण हुनु अत्यन्त निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =