स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

काठमाडौं । भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीमाथि गएराति भएको दुर्व्यवहारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर ध्यानकर्षण भएको जनाउँदै आक्रमणकारीहरूलाई कारबाही गर्न माग गरेको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै, यो महामारीको समयमा संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको सबैभन्दा भरपर्दो सारथी भनेको स्वास्थ्यकर्मी भएकाले सबै सरोकारवाला निकाय मिलेर उनीहरुलाई उच्च मनोवलका साथ काम गर्ने सुरक्षित वातावरण मिलाउन सबैमा आग्रह गरेको छ ।
यस्तो विषम परिस्थितीमा पनि आफ्नो पेशागत मर्यादा नभुली काम गरिरहेका स्वास्थ्यकर्मीमाथि आफ्नै कार्यस्थलमै सांघातिक हुने खालको कार्य एकदमै लाजस्पद रहेको भन्दै सबैले सम्मानका साथ उच्च मनोवल बढाउन सहयोग गरिदिन पनि अनुरोध गरेको छ ।
साथै मन्त्रालयले कोभिड-१९ संकट व्यवस्था अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।










