मुख्यमन्त्रीको घोषणा : भेरी अस्पतालको घटनाका दोषीमाथि कारबाही हुन्छ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा भएको घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाको सत्यतथ्य छानबिनपछि दोषिमाथि कारबाही हुने मुख्यमन्त्री पोखरेलको प्रतिबद्धता छ ।

घटनामाथि आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले भनेका छन्– ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद् घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनेछ ।’

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । आक्रमणकारीमाथि कारबाही हुनुपर्ने चौतर्फी माग भइरहेको छ ।

घटनाको छानबिनको लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठनसमेत भएको छ । शुक्रबार बसेको सरोकारवाला निकायको बैठकले सहायक प्रजिअ शंकरबहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन् ।

समितिमा चिकित्सक संघ, नर्सि संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधिसमेत राखिएको छ । समितिले आजैबाट काम थाल्ने र ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *