औषधि लिएर संक्रमितको घर-घरमा जनप्रतिनिधि

स्याङजा । कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन् ।

गत वर्षको पहिलो चरणको कोरोना सङ्क्रमणको प्रभाव गाउँघरमा भन्दा बजार क्षेत्रमा बढी प्रभावित पारेको भए पनि यस पटकको दोस्रो लहरको सङ्क्रमण बजार क्षेत्रसँगसँगै ग्रामीण क्षेत्रमा समेत बढी फैलिँदै गएकाले स्थानीय जनप्रतिनिधि सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाह र औषधि दिनका लागि घरगाउँमै पुग्ने गरेका छन् ।

आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल गाउँपालिकामै आयुर्वेदसम्बन्धी औषधि उत्पादन गरेर सोही औषधि र स्वास्थ्यकर्मीको टोली लिएर पालिकाका जनताको घरदैलोमा पुगेका छन् । पालिकाले आयुर्वेदिक स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीसहितको टोलीसँगै सङ्क्रमितको घररमा पुगेर औषधि वितरण गरेका हुन्। कोरोना सङ्क्रमित बिरामीका लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने औषधि सङ्क्रमित बिरामीको घरमै पुगेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष पौडेलले गाउँगाउँमा सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले सङ्क्रमितको घरमै पुगेर आवश्यक परामर्शसहित औषधि समेत वितरण गरिएको बताए । गाउँमा रोगका लक्षण देखिए पनि उपचारमा चासो नदेखाउनुका साथै त्रसित बनेर बस्ने अवस्था आएकाले गाउँपालिकाको एक टोली नै बनाएर गाउँगाउँमा पुगेको बताए । अध्यक्ष पौडेलले भने, ‘गाउँघरमा कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण देखिए पनि जनचेतना अभावमा सतर्कता नअपनाएको र छिमेकमा समेत त्रास फैलिने अवस्था आएकाले सङ्क्रमितको घरघरमा पुगेर आवश्क परामर्श दिँदै आएका छौँ ।’

गाउँपालिकाका विभिन्न वडामा कोरोना सङ्क्रमित देखिएपछि होम आइसोलेशनमा बसेका पञ्चमुल, चिलाउनेबास, सेती दोभान र फापरथुमका सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो । सङ्क्रमितको घरमै पुगेर भेट गरी स्वास्थ्यमा जटिल समस्या आउने अवस्था आए तुरुन्तै गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।

सङ्क्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क, स्यानिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र भिटामिनयुक्त औषधि वितरण गर्दा बिरामीमा रोगलाई जित्ने आत्मबल बढ्ने अध्यक्ष पौडेलको भनाइ थियो । कोरोना सङ्क्रमणलाई लक्षित गरेर सेतीदोभानमा २० शैंयाको कोभिड अस्थायी अस्पताल निर्माण गरेको र गाउँपालिकाका जनताको जीवन रक्षाका लागि पालिकाले कुनै कसर बाँकी नराख्ने बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै सचेत रहनसमेत पालिकावासीलाई अध्यक्ष पौडेलले आग्रह गरे ।

आइसोलेशनमा बस्दा लागेको सम्पूर्ण खर्च गाउँपालिकाले नै व्योहोर्ने र बाहिरबाट आउनेहरूका लागि पालिकाले बनाएको क्वारेन्टिनमा बस्न चाहनेका लागि निःशुल्क खानाका साथै बस्ने व्यवस्थासमेत मिलाएको गाउँपालिकाका सूचना प्राविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

यसैगरी गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले नगरवासीको स्वास्थ्यप्रति नगरपालिका निकै संवेदनशील रहेको बताउँदै नगरपालिकाले कोरोना सङ्क्रमणबाट प्रभावित भएका गाउँबस्तीमा पुगेर आवश्यक औषधिका साथै परामर्श र सहयोग गर्दै आएको बताए । कोरोना सङ्क्रमणबाट बच्ने भनेकै स्वास्थ्य मापदण्डको पालना गर्नुका साथै सचेतना अपनाउनु नै अहिलेको आवश्यकता भएकाले नगरपालिका अहिले यही अभियानमा रहेको बताए ।

नगर प्रमुख अधिकारीले भने, ‘हामी अहिले नगरवासीलाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी सुरक्षित गर्न सकिन्छ भनेर लागिरहका छौं, गल्याङ नगर अस्पताललाई कोभिड अस्पतालका रूपमा अक्सिजनसहितको सेवा दिएर बिरामीको उपचार गर्ने व्यवस्था मिलाएका छौं ।’

अस्पतालमा रहेका एम्बुलेन्सले सङ्क्रमित बिरामीका लागि निःशुल्क सेवा दिइरहेको र थप आवश्यक परे बिरामीलाई उपचारका लागि अस्पतालसम्म लैजान नगरपालिकाको सवारी साधन समेत तयारी अवस्थामा राखिएको नगर प्रमुख अधिकारीले जानकारी दिए ।

सङ्क्रमणबाट बढी प्रभावित भएको नगरपालिकाको ११ नं वडा जिमुहामा औषधिसहित नगर प्रमुख अधिकारी, स्वास्थ्यकर्मीलगायत टोलीले औषधि वितरण गर्नुका साथै आवश्यक परामर्शसमेत दिएको थियो भने नगरभित्रका वडामा सङ्क्रमणलाई थप फैलिनबाट रोक्न नगरपालिका स्वास्थ्य शाखाको टोली पुगेर निःशुल्क एन्टिजेन समेत परीक्षण गरिएको नपाले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट त्रसित बनेका सङ्क्रमित आफ्नै घरआँगनमा औषधिसहित स्वास्थ्यकर्मी टोली लिएर जनप्रतिनिधि आइपुग्दा खुशी लागेको बताउँछन् । स्थानीय तहका प्रमुखलगायत टोलीले सङ्क्रमितको घरमै पुगेर भेटघाटका साथै आवश्यक सरसल्लाह एवं सुझाव दिँदा सङ्क्रमितले राहत महसुस गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *