हालसम्मकै उच्च निर्यात, १० महिनामा ३२ प्रतिशतले बढेर १०८ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को १० महिनामा नेपालबाट हुने वस्तुको निर्यात ३२.१९ प्रतिशतले बढेको छ । चालु वर्षको साउनदेखि वैशाखसम्ममा १ खर्ब ८ अर्ब अर्ब ४७ करोड ९७ लाख रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा ८२ अर्ब ६ करोड ४७ लाख रुपैयाँको निर्यात भएको थियो ।
निर्यात मूल्यलाई १ खर्ब पुर्याउने सरकारको लक्ष्य पूरा भएको हो । यद्यपी, सरकारले आजभन्दा १३ वर्षअघि अर्थात् २०६४ सालमै निर्यात १ खर्ब पुर्याउने लक्ष्य राखेको थियो । उक्त लक्ष्य बल्ल पूरा भएको हो ।
निर्याल लक्ष्य पूरा गर्न तथा खर्बभन्दा बढीको निर्यात गर्न भटमासको तेलको हिस्सा ठूलो छ । यस अवधिमा ३५ अर्ब ७५ करोड रुपैयाँको सोयाविन तेल निर्यात भएको छ । याे कुल निर्यात मूल्यकाे ३३ प्रतिशत हाे । यद्यपी, भटमासको तेल उत्पादका लागि आवश्यक भटमास(कच्चा पदार्थ) नेपालको उत्पादन भने होइन । नेपालमा तेस्रो मुलकबाट झण्डै ३८ अर्ब रुपैयाँको भटमास आयात भएको छ ।
झण्डै ६ अर्ब रुपैयाँको अलैँची निर्यात भएको छ । त्यस्तै, धागो, उन र कपडाजन्य उत्पादन, चिया, कफी, जडिबुटी, गलैंचा, तयारी पोशाकको निर्यात पनि उल्लेख्य छ । नेपालबाट ७ सय ८ वस्तुकाे निर्यात भएकाे विभागकाे तथ्यांक छ ।
विदेशमा यी वस्तुको माग बढेको हुँदा यी बस्तुको निर्यात परिमाण समेत बढेको भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले बताए । ‘यी वस्तुको माग बढ्दा निर्यात परिमाण बढेको छ,’ उनले भने, ‘यी वस्तुको मूल्य समेत बढ्दा निर्यातको कुल रकम बढेको हो ।’
आयत भएको मध्ये झण्डै ३६ अर्ब रुपैयाँ भटमासको तेल बिक्रीबाट नेपाल भित्रिएको छ । त्यसो त भटमासको पिना पोल्ट्री क्षेत्रका दाना उद्योगले कुखुरालगायत पन्छीको दाना बनाउन प्रयोग गर्ने भएकोले यसले पनि नेपालमा दानाको माग पूरा गर्न सहयोग गरेको देखिन्छ ।
कच्चा पदार्थ विदेशबाट ल्याएर पनि त्यसमा मूल्य अभिवृद्धि(भ्यालु एड) गरेर निर्यात गर्न सकिन्छ भने त्यसले देशलाई आर्थिक रुपमा लाभ दिन सक्छ । तर, कतिपयले निरपेक्ष रुपमा कच्चा पदार्थ आयात गरेर उत्पादन गरिएको पदार्थको निर्यातले देशलाई लाभ नदिने धारणा राख्ने गरेका छन् । विगतमा उकालाे लागेकाे तयारी पाेशाखकाे निर्यात फेरि बढ्न थालेकाे भए पनि निर्यात बढाउन यसकाे याेगदान अझ बढी हुने देखिएकाे छ । त्यस्तै सम्भाव्य वस्तुकाे निर्यात बढाउनु पर्ने देखिन्छ ।
नेपालका सानाठूला गरी २४ नाकाबाट अयात–निर्यात अन्तर्राष्ट्रिय व्यापार हुने गरेको छ ।








