महन्थलाई प्रश्न- ओलीको प्रतिगमनलाई किन साथ दिएको ?

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीचको विवाद उत्कर्षमा पुगेको छ । ओलीलाई कि देउवालाई समर्थन गर्ने भन्ने विवाद भएपछि जसपाका अध्यक्षहरूले एकअर्कालाई स्पष्टीकरण सोधेका हुन् ।
अध्यक्ष ठाकुर पक्षले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण सोधेलगत्तै यादव पक्षले ठाकुरलाई स्पष्टीकरणको पत्र पठाएको छ । यादव पक्षले अध्यक्ष ठाकुरलाई ९ बुँदे स्पष्टीकरण पत्र पठाएको हो ।
जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले अध्यक्ष ठाकुरलाई स्पष्टीकरण सोधिएको पत्र पठाएका हुन् । उनलाई ओलीको प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको भन्ने प्रश्न सोध्दै स्पष्टीकरण दिन भनेको छ ।
यो पनि : उपेन्द्रलाई महन्थको प्रश्न- ओलीलाई छाडेर देउवालाई समर्थन किन ?
यसअघि मंगलबार नै अध्यक्ष ठाकुरले अध्यक्ष यादवलाई पार्टीविरुद्ध गतिविधिमा लागेको भन्दै स्पष्टीकरण सोधेका थिए । सरकार गठन प्रकृयामा ओलीलाई छोडेर शेरबहादुर देउवालाई किन समर्थन गरेको ? लगायत प्रश्न गरिएको स्पष्टिकरणको जवाफ तीनदिन भित्र दिन भनिएको छ ।









