‘प्रतिगमनविरुद्ध संघर्षमा उत्रिनु एकमात्र विकल्प’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारी सोचविरूद्ध संघर्षमा उत्रन आग्रह गरेका छन् । २५६५ औं बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै प्रचण्डले प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरूद्ध संघर्षमा उत्रन आग्रह गरेका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्ति एकजुट भई प्रतिगामी प्रवृत्तिविरूद्ध संघर्ष गर्नुपर्ने उनको भनाइ छ । ‘प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको छ,’ शुभकामनामा भनिएको छ, ‘त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्दछु ।’
बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको उनले उल्लेख गरेका छन् । ‘सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ । दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ । त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा हामीले भोग्दै आएका छौं’ प्रचण्डले भनेका छन् ।
बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा सुस्वास्थ्य र दीर्घायूको कामनासहित उनले शुभकामना व्यक्त गरेका छन् । साथै प्रचण्डले किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा सबैलाई शुभकामना दिएका छन् ।









