ईटहरीमा निजी क्षेत्रको अगुवाइमा ८० बेडको आइसोलेसन

विराटनगर । इटहरीमा निजी क्षेत्रको अगुवाइमा अक्सिजनसहितको ८० शय्याको आइसोलेसन मंगलबारबाट संचालनमा आएको छ । सीमित व्यक्तिहरू सहभागी भएर आइसोलेसन सञ्चालनमा आएको घोषणा गरिएको हो ।

उद्योग वाणिज्य संघ ईटहरीको अगुवाइमा अक्सिजनसहितको आइसोलेसन इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा संचालनमा आएको हो । नेपाल प्रेस युनियन सुनसरी, युवा उद्यमी मञ्च इटहरी, श्रीकृष्ण प्रणामी मन्दिर र मारवाडी सेवा समिति इटहरीले आइसोलसन संचालनमा साथ दिएका छन् । निजी क्षेत्रको पहलमा सञ्चालन भएको सुविधा सम्पन्न आइसोलेसनले ईटहरी नगरबासीलाई राहत मिल्ने ईटहरी उपमहानगरपालिकाका उमेयर द्वारिकलाल चौधरीले बताए । उनले निजी क्षेत्रको सहयोगमा उदाहरणीय काम भएको बताए ।

तीन तल्ले भवनमा सञ्चालित सुविधा सम्पन्न आइसोलेसनमा डाक्टर र नर्ससहितको व्यवस्था गरिएको छ । मारवाडी सेवा समिति इहरीका अध्यक्ष मुकेश अग्रवालले सुनसरीसहित आसपासका क्षेत्रमा कोरोना भाइरस संक्रमण तीव्र फैलिएपछि निजी क्षेत्रको अगुवाइमा आइसोलेसन संचालनमा ल्याइएको बताए ।

स्थानीय तहले निर्माण गरेका कतिपय आइसोलेसनमा बिरामी बस्नै नमान्ने गरेको गुनासो आइरहेको अवस्थामा निजी क्षेत्रले डाक्टरसहित खाना र बस्नसहितको निःशुल्क सेवा दिन थालेको अग्रवालले बताए ।

महामारीमा सरकारी क्षेत्रको मात्र मुख ताक्ने प्रवृत्ति रहेकोमा निजी तथा सामाजिक क्षेत्रबाट पनि केही गर्न सकिने उदाहरणीय कामको थालनी गरिएको उद्योग वाणिज्य संघ ईटहरीका अध्यक्ष भीम पौडेलले बताए । नागरिकको असजिलोलाई ध्यानमा राखेर निर्माण गरिएको आइसोलेसन सेन्टरबाट ईटहरी र आसपासमा बसोबास गर्नेहरूले राहत पाउने अध्यक्ष पौडेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *