अब नयाँ पार्टी खोल्छौंः झलनाथ खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वप्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टी हितविपरीत अनुशासनहीन कार्य गरेको ठहर गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

पार्टीबाट निष्कासन हुनेमा नेपाल, खनालसहित नेताहरू भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खडका, सरलाकुमारी यादव, पुष्पाकुमारी कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु र कलिला खातुन रहेका छन् । उनीहरूलाई पार्टीको साधारण सदस्य तथा पार्टीको तर्फबाट जनप्रतिनिधित्व, कार्यकर्ताको प्रतिनिधित्व, विभिन्नि संघसंस्था वा संगठनका कुनै पद, ओहदा वा प्रतिनिधित्वमा रहेको भए सोसमेत नरहने गरी कारबाही गरिएको परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

यसअघि गत शनिबार बसेको स्थायी कमिटी बैठकले कारबाहीमा परेका ११ जना नेतासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तीन दिनभित्रमा स्पष्टीकरणको जवाफ पेस गर्न भनिएको भए पनि कुनै पनि नेताले जवाफ पेस नगरेकाले कारबाही प्रक्रिया अघि बढाइएको हाे ।

अब नयाँ पार्टी खोल्छौंः नेता खनाल
पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको बताए ।

‘हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं । प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौं,’ खनालले भने ।

यसैगरी, नेता रावलले आफूहरूलाई गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी गरेका छन् । समाजिक सञ्जाल ट्वीटरमा नेता रावलले राष्ट्रघाती काम गर्ने ओलीले साधारण सदस्यबाट हटाइयो भन्नु फुटवादको निरन्तरता भएको उनले जनाएका छन् । – राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *