नेपाल–खनालसहित ११ नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले विपक्षी एमालेका ११ नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । एक स्थायी कमिटी सदस्यले मकालु खबरलाई बताएअनुसार बैठकले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायत ११ जना नेतालाई पार्टीको सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको हो । ‘उहाँहरुले पार्टी निर्णयलाई उल्लंघन गर्नुभएको थियो । अनि कारबाही गरिएको हो,’ ती नेताले भनेका छन् ।

ती नेताकाअनुसार उनीहरुलाई प्रतिपक्षी नेता शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेकोले कारबाही गरिएको हो । ‘त्यति मात्रै होइन, उहाँहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदमविरुद्ध पनि विपक्षी गठबन्धनलाई साथ दिनुभयो र स्पष्टीकरण बुझाउनुभएन, त्यो भएर यस्तो कदम चालिएको हो,’ ती नेताले भनेका छन् ।

यसअघि गत शनिवार बसेको स्थायी कमिटी बैठकले ११ नेतालाई स्पष्टीकरण सोधेको थियो । बैठकले नेपाल–खनालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारबाही गरेको हो ।

यस्तै, बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार (आज) रिट निवेदनमा २३ जना सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भएको थियो । कांग्रेस सभापति देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।

विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाएको रिटमा एमालेका खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका हुन् । यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, गणेश पहाडी र राजबहादुर बुढाले हस्ताक्षर गरेका थिएनन् ।

यस्तै अघिल्लो पटक हस्ताक्षर नगरेकी कलिला खातुनले भने यसपालि हस्ताक्षर गरेकी छन् । आफूहरूले बहुमत सांसदको हस्ताक्षर बुझाएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालत गएका थिए ।

कांग्रेस, माओवादी विपक्षी एमाले, जनता समाजवादी पार्टी (भट्टराई–यादव पक्ष) र राष्ट्रिय जनमोर्चाका सांसदहरुले हस्ताक्षरसहित आफैं उपस्थित भएर अदालतमा रिट हालेका छन् । जहाँ, मूलतः ३ माग गरिएको छ । प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुपर्ने, संसद् पुनःस्थापना हुनुपर्ने र संसद् अधिवेशन तत्काल बोलाउनुपर्ने विपक्षी गठबन्धनको माग छ ।

रिटमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदको हस्ताक्षर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *