सरकारमा जाने तयारीमा जसपा, पार्टी नफुट्ने दाबी

काठमाडौं । महन्थ ठाकुर—राजेन्द्र महतोपक्षीय जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा जाने तयारी गरेको छ । अध्यक्ष ठाकुर निकट एक सांसदले मकालु खबरसँग भने— ‘प्रधानमन्त्रीज्यूले धेरैजसो हाम्रो माग पूरा गरिदिनुभएको छ । यसपछि सरकारमा जाने/नजाने भन्नेबारे तीव्र छलफल भइरहेको छ पार्टीमा । सम्भावनाको कुरा गर्ने हो भने सरकारमा जाने सम्भावना नै बढी छ ।’

ती सांसदकाअनुसार जसपाले सरकारमा जानको लागि ८ मन्त्रीसहित २ राज्यमन्त्रीको माग गरेको छ । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक रहेका छन् । ती सांसदले भनेका छन्— ‘हामीले ८ मन्त्रीसहित २ राज्य मन्त्रीको माग गरेका हौँ । त्यसमा प्रधानमन्त्रीले सहमति जनाइसक्नुभएको छैन । तर, सकारात्मक देखिनुभएको छ ।’

यता एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले पनि प्रधानमन्त्री र महन्थ ठाकुरबीच लगातार सम्वाद भइरहेको बताउँदै जसपा सरकारमा आउने सम्भावना उच्च रहेको बताउँछन् । मकालु खबरसँग नेता नेम्वाङ्गले भने— ‘प्रधानमन्त्रीज्यू र महन्थजीबीचमा लगातार वार्ता भइरहेको छ । जसपा सरकारमा आउने सम्भावना पनि छ । किन पनि भने सरकारले जसपाको माग प्रायः पूरा गरेको छ । त्यसलाई उहाँहरुले सकारात्मक रुपमा लिनुभएको छ । त्यसैले पनि उहाँहरु सरकारमा आउने सम्भावना बढी छ ।’

जसपामा अहिले राजेन्द्र महतोसहित लक्ष्मणलाल कर्ण, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अग्ररिया, इबाल मिँया, विमल श्रीवास्तवलगायत मन्त्रीका आकांक्षी छन् ।

ठाकुर—महतोपक्षीय जसपा सरकारमा गए जसपा एक रहन्छ ?
तत्कालीन समाजवादी पार्टी (सपा) र तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बीच रातारात एकता भएको जनता समाजवादी पार्टी (जसपा)को दिनचर्या अहिले एक आपसलाई आरोप प्रत्यारोप लगाउने र स्पष्टीकरण सोधासोध गर्नेमै गुज्रिरहेको छ ।

यता डा. बाबुराम भट्टराई—उपेन्द्र यादवपक्षीय जसपा केपी शर्मा ओली नेतृत्वको सरकारमा कुनै पनि हालतमा नजाने र ओली विस्थापित हुनेपर्नेमा देखिएको छ भने ठाकुर—महतोपक्षीय जसपा आफ्नो माग पूरा भएको खण्डमा ओलीकै नेतृत्वमा सरकारमा जाने पक्षमा थियो । यसपछि अहिले जसपाका अधिकांश माग प्रधानमन्त्री ओलीले पूरा गरिदिएका छन् । यसपछि जसपाले सरकारमा जाने तयारी गरेको हो ।
तपाईंहरु सरकारमा जानुभयो भने जसपाको विधिवत् फुट भयो भन्ने बुझिँदैन ? भन्ने प्रश्नमा सांसद चन्दा चौधरी भन्छिन्— ‘कसरी हुन्छ र विधिवत् फुट ? जसपा फुट्दैन, हामीसँग बहुमत सांसदहरु हुनुहुन्छ । महन्थ ठाकुरजी नै पहिलो अध्यक्ष हुनुहुन्छ र उहाँले गरेका निर्णयहरु वैधानिक हुन्छन् । जसपा फुट्दैन । यति केही गरी फुटेपनि बहुमत सांसदहरु हामीसँग हुन्छन् ।’

सांसद चौधरीले आफूहरुको तर्फबाट पार्टी कहिल्यै नफुट्ने ठोकुवा गर्छिन् । भन्छिन्— ‘अरुको तर्फबाट पार्टी फुटे त के नै भन्न सकिन्छ र ? हाम्रो तर्फबाट भने पार्टीलाई फुटाउने काम हुँदैन । किनकि, पार्टी फुटाउनको लागि एकता गरिएको थिएन र होइन ।’

यस्तै अर्का सांसद एकवाल मियाँले पनि आफूहरु सरकारमा जाँदा जसपा विधिवत् रुपमा नफुट्नेमा ढुक्क छन् । भन्छन्— ‘हामी सरकारमा गएपछि त जसपाले पो सरकार चलाउँछ त, किन फुट्छ पार्टी ? जसपा सरकारमा गएपछि जसपा झनै बलियो हुन्छ । पार्टी फुट्ने कुरै हुँदैन ।’
यद्यपि यता, अध्यक्ष उपेन्द्र यादव पक्षले भने पार्टीका कुनै सदस्य प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी भए निस्कासन गर्ने निर्णय गरेको छ । शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकको उक्त निर्णय कार्यान्वयन नहुने सांसद मियाँ बताउँछन् । भन्छन्— ‘पार्टीमा कहिलेकाहीँ असहमतिहरु आउँछन्, त्यसको सेफ ल्याण्ड गर्नुपर्छ । यी निर्णयहरु कार्यान्वयन हुँदैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *