जसपा विवाद

ठाकुरद्वारा यादवको निर्णय अमान्य भएको जानकारी निर्वाचन आयोगलाई

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका एक अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले गरेको निर्णयहरु अमान्य भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । ठाकुर पक्षको आइतबार (आज) बबरमहलमा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि विज्ञप्ति निकाल्दै ठाकुरले ७ गते विज्ञप्ति जारी गरी स्थगित गरिएको कार्यकारिणी समितिको बैठक गोप्य स्थानमा गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैठकको निर्णयहरु अमान्य हुनेसमेत बताएका छन् ।

कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते पार्टीको केन्द्रीय कार्यालयमा बालकुमारीमा बस्ने तय भएको तर कोरोनाको प्रभाव एवम् बन्दाबन्दीको असहजताको कारण जेठ ७ गते सो बैठक स्थगित गरिएका सूचना सार्वजनिक गरिनुको साथै सम्पूर्ण कार्यकारिणी समिति सदस्यहरुलाईसमेत जानकारी गराइसकिएको अवस्थामा गोप्य स्थानमा बैठक बसाएको दाबी अध्यक्ष ठाकुरले गरेका छन् ।

यसअघि शनिबार सोह्रखुट्टेको नेपाः बैङ्क्वेटमा बसेको जसपा कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *