पुल्चोकमा अक्सिजन र इमर्जेन्सीबिनाकाे आइशोलेसन सेन्टर सञ्चालनमा

काठमाडौं । ललितपुरको पुल्चोकमा आइतबारबाट अक्सिजन र इमर्जेन्सी उपचार सेवाबिनाको आइशोलेशन सेन्टर सञ्चालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासंघले ललितपुर उद्योग वाणिज्य संघको संयोजन, आरम्भ फाउण्डेशन र अक्षेश्वर महाविहार पुल्चोकको सहयोग तथा सहकार्यमा कोभिड संक्रमितका लागि आइतबारबाट अक्षेश्वर महाविहार पुल्चोकमा उक्त आइशोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।

ललितपुर उद्योग वाणिज्य संघको स्थानीय संयोजन, आरम्भ फाउण्डेशनको स्वास्थ्य सेवासम्बन्धी सहकार्य र अक्षेश्वर महाविहारले आइशोलेशन केन्द्र स्थापनाका लागि स्थान उपलव्ध गराएको छ ।
महासंघका अनुसार आइशोलेसन सेन्टरमा प्रारम्भमा जम्मा ३० बेड रहने छन् र आवश्यकताका आधारमा थप बेडको व्यवस्थापन गर्दै जाने योजना छ । केन्द्रबाट दैनिक पौष्टिक आहार र स्वास्थ्य सेवा निःशुल्क उपलव्ध गराइने छ । केन्द्रका लागि आवश्यक औषधि, महासंघको कार्यकारिणी समिति सदस्य प्रवलजंग पाण्डे र निवर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, मास्क सेनिटाइजर कार्यकारिणी समिति सदस्य आनन्द वगाडिया, खाद्यान्न कार्यकारिणी समिति सदस्य संदिप अग्रवाल(गाडिया), सेनिटाइजर हयाण्डवास सोप पवन चौधरी, डेटोल सोप, कोल्गेट, टुथपेष्ट, टुथव्रस, हार्पिक बल्लभ सिग्देल, पिउने पानी अजयसिंह कार्की, इन्टरनेट सेवा भायनेटका सेवा पाठक र हात्तिछाप चप्पल विदुषी राणाले उपलव्ध गराउने भएका छन् । सहयोग स्वरुप यी सामग्री उपलब्ध गराईने भएको हो ।

निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउँमा राखी संक्रमण नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले केन्द्र संचालनमा ल्याएको महासंघले जनाएको छ ।

आइशोलेसनमा रहँदा कुनै संक्रमितमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा विरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिने र त्यपछिको सम्पूर्ण व्यवस्थापन विरामी आफैले गर्नुपर्नेछ । केही व्यवहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड संक्रमित एकल महिलालाई सेन्टरमा सेवा दिन नसकिने जनाएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले संक्रमणका बखत उचित खानपिन र वासस्थानको अभाव भइरहेकालाई केन्द्र संचालनबाट ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले महामारिको यो समयमा समस्यामा परेकाहरूलाई मानवीय सेवा गर्ने उद्देश्यले महासंघले संचालन गरेको स्वास्थ्य अभियानबाट निकै धेरैले राहतको महसुस गरेको बताए ।

आइशोलेसन सेन्टर स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यले कोभिडको यो विषम परिस्थितिमा ललितपुरमा आइशोलेशन केन्द्र संचालनका लागि सहयोग गरेकोमा ललितपुर उद्योग वाणिज्य संघ, आरम्भ फाउण्डेशन र अक्षेश्वर महाविहार र यसका नेतृत्वलाई धन्यवाद दिए । ललितपुर उवासंघका अध्यक्ष मनोज बहादुर न्याच्छयोले यो मानवीय सहायता कार्यमा महासंघसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

महासंघले यसअघि गत वैशाख ३० गतेदेखि भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहयोग र सहकार्यमा कमलपोखरीस्थित जैन निकेतनमा ५० बेडको आइशोलेशन सेन्टर र जेठ ३ गते देखि क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालको भवनमा काठमाडौं महानगरपालिका वडा नम्वर १७ संगको सहकार्यमा ५० वेडको आइशोलेशन केन्द्र संचालनमा ल्याई सकेको छ ।

महासंघले कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको र सोही अभियान अन्तरगतनै आइशोलेसन सेन्टरहरू संचालनमा ल्याइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =